मलेसियामा बेपत्ता चौधरी खोजिदिन परिवारको अपिल

- वैदेशिक रोजगारीको लागि मेलिया गएका उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरपुरका प्रदीपकुमार चौधरी डेढ वर्षदेखि घर परिवारसँग सम्पर्कविहिन रहेका छन् । मलेसिया गएको केही समयसम्म नियमति फोन सम्पर्कमा रहेका उनी २०७४ साल मंसिर ४ गतेदेखि घरपरिवारसँग सम्पर्कमा नरहेको परिवारले जानकारी दिएको छ ।
वसुन्धरास्थित पिजन ओभरसिज प्रालिबाट मलेसिया गएका चौधरी मलेसियाको डब्ल्यूसीटी कन्स्ट्रक्सन एसडीएन विएचडी कम्पनीमा कार्यरत थिए । सो कम्पनीमा उनी आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर पुनः सोही कम्पनीमा काम गर्न मेलेसिया गएका थिए । पछिल्लो पटक गएको केही समयसम्म सम्पर्कमै रहेका उनी एक्कासि सम्पर्कविहिन भएको बुवा सिताराम चौधरीले जानकारी दिए । घरमा सम्पर्क गर्न छाडेपछि उनको खोजि कार्य सुरू गरिएको तर अहिलेसम्म उनी नभेटिएको बुबा सितारामले जानकारी दिए । यस क्रममा वैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा समेत निवदेन दिएको उनले बताए । बोर्डले पहल गर्दा मलेशियाका जेल र सेल्टरमा प्रदीपकुमार चौधरी नामको कुनै पनि व्यक्ति नरहेको जानकारी दिएको बुबा सितारामले बताए । त्यसैगरी मलेशियामै काम गर्ने उदयपुरका एकजना शुभचिन्तकको सहयोगमा मलेशियामा कार्यरत कम्पनीमा बुझ्न पठाउँदा उनी त्यहाँ नरहेको कम्पनीको गार्डले जानकारी दिएको बताए । प्रदीप ८÷१० महिनादेखि नै कम्पनी छाडेर अन्यत्र गएका कम्पनीका गार्डलाई उद्धृत गर्दै बुबा सितारामले जानकारी थिए ।
मलेसिया पुगेको केही समयसम्म आफूसँग फोन सम्पर्कमै रहेको उनकी श्रीमती कुन्तीदेवी चौधरीले जानकारी दिइन् । घरपरिवारसँग सम्पर्क नै विच्छेद हुनुपर्ने कुनै कारण नभएको पनि उनले बताइन् । “घरपरिवार र कसैसँग झगडा र नराम्रो पनि भएको थिएन,” उनले भनिन्, “परिवार, आफन्त, शुभचिन्तक र साथीभाइ सबैसँग एक्कासि सम्पर्क विच्छेद भएपछि हामी सबै चिन्तित भएका छौं ।” फेसबुक म्यासेन्जर र इमो, भाइबरमा नियमित सम्पर्क भइरहेकोमा सोही मितिदेखि मोबाइल, फेसबुक सबै निष्क्रिय भएको पनि उनले जानकारी दिइन् ।
“न लाश भेटिन्छ न सास, कहाँ हरायो त मेरो छोरा ?” प्रदीपकी आमा सन्ध्यादेबी चौधरीले रूँदै भनिन् “नेपाल सरकारका साथै सहयोगीहरूलाई खोज्न आवश्यक सहयोगका लागि अपिल गर्दछु ।” उनको खोजि कार्यमा आवश्यक सहयोग गरिदिनुहुन नेपाल सरकारका साथै सञ्चारकर्मी, मानवअधिकारकर्मीहरुसँग पनि परिवारले अपिल गरेको छ । ३२ वर्षिय चौधरीका १३ वर्षका एक छोरी र ८ वर्षको एक छोरा रहेका छन् ।