राणाकालीन शासन अवधिमा नेपालमा कृषि

प्राकृतिक तथा जैविक विविधताले धनी, विविध हावापानी र हिमाल, पहाड, तराईसहितको उर्वर भूमिले सुसज्जित साथै लामो सभ्यता बोकेको हाम्रो देश नेपाल आफैंमा एक अनुपम प्रकृतिले वरदान प्राप्त मुलुक हो । पूर्वपाषाण कालदेखि मानवको उपस्थित भई पाषाणकालीन अवस्थादेखि नै सभ्यता रहेको नेपाल र यहाँ बसेका नेपालीहरूको जीविकाको मुख्य आधार पहिलेदेखि नै कृषि तथा पशुपालन थियो । यो देशमा गोपाल वंशी, महिषपाल, किरात काल, लिच्छवि काल, मल्लकाल साथै मध्यकाल, पूर्वआधुनिक कालका साथै आधुनिक काल र हालसम्म पनि कृषि अर्थतन्त्रको मुख्य आधार तथा अर्थतन्त्रको मेरुदण्ड रहेको सर्वविदितै छ । यद्यपि यो लेखमा भने हामी विशेषतः राणाकालीन समयको कृषिको विकासका बारे चर्चा गर्नेछौं ।
नेपालको राज्यसत्तामा वि.सं. १९०३ मा भएको घटनासँगै जंगबहादुर राणाको उदय भयो । यो घटनाले कालान्तरमा जहानियाँ राणाशासनको विकास ग¥यो, जुन वि.सं २००७ सम्म रह्यो । जंगबहादुरको उदयसँगै समग्र राज्यसत्ता तथा राज्यव्यवस्थामा समेत व्यापक परिवर्तन ल्यायो । यसबखत समग्र मानिसको जनजीविकाको माध्यम भने कृषि रहेको थियो । यद्यपि कृषिमा आधारित जनजीवन भए तापनि यो क्षेत्रमा कुनै पनि नयाँपन थिएन, बहुसंख्यक कृषकको अवस्था नाजुक थियो । यो बेला नै युरोप, अमेरिका तथा कैयौं मुलुकहरूमा कृषिको विकास चरम उत्कर्षमा पुगेको थियो । कृषिसँग सम्बन्धित आधुनिक उद्योगहरू सञ्चालनमा आएका थिए भने यी देशहरूमा आधुनिक कृषि औजार उपकरणको विकास भई व्यापक प्रयोगमा आएका थियो । जंगबहादुर राणाले बेलायतकी महारानी भिक्टोरियाको निमन्त्रणामा वि.सं. १९०६ देखि वि.सं. १९०९ सम्म बेलायत भ्रमण गरे, तत्पश्चात् मात्र कृषिमा उन्नत जात तथा प्रविधिको प्रयोगको थालनी भएको पाइन्छ । बेलायतको भ्रमणका क्रममा त्यहाँको विकासबाट लालायित भई त्यहाँबाट फर्कंदा स्थानीय गाईको नस्ल सुधार गर्न एउटा जर्सी साढे र दुईवटा गाई, रातो क्लोभर घाँसको बीउ, नदीबाट पानी तानी सिँचाइ गर्नका लागि तीनवटा पानी तान्ने मेसिन, एक–दुई किसिमका फलका बेर्ना लिएर आएका थिए भनिन्छ । काठमाडौंको भकारी भनेर चिनिने पश्चिम वनको शेरा फाँटबाट मात्र अन्नको पुर्ति हुन छाडेकोले पश्चिम पहाडी क्षेत्रहरूमा विशाल टारहरू सम्भवत बटार, सल्यानटारलगायतका टारहरूमा सिँचाइको प्रबन्ध गर्न सकेमा अन्नको सङ्कट हटाउन सकिन्छ भन्ने उद्देश्यले नदीबाट पानी तानी सिँचाइ गर्न ती पानी तान्ने मेसिन बेलायतबाट जंगबहादुरले ल्याएका थिए भनिन्छ । त्यस्तै दाप्चालीलगायतका पहाडी गाईहरूको वंश सुधार गर्न जर्सी साढे र तिनीहरूलाई पोसिलो घाँस खुवाउन रातो क्लोभरको बीउसमेत ल्याएका हुन् भनिन्छ । यसै बेलादेखि कृषिमा आधुनिकताको सुरुवात भएको मानिन्छ । जंगबहादुरमा कृषिको विकास उसै बेलादेखि गर्नुपर्छ भन्ने भावना आएको थियो । जंगबहादुर राणाकै पालामा नेपालमा चियाखेतीको सुरुवात इ.सं. १८६३ (वि.सं. १९२०) देखि भएको मानिन्छ । त्यतिखेर तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा चीन भ्रमणमा गई फर्कंदा चिनियाँ सम्राट्बाट केही चिनियाँ जातका चियाका बीउ उपहारस्वरूप पाएकाले फर्कंदा ल्याएर नेपालमा भिœयाएका थिए भनिन्छ । उनले सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम कर्नेल गजराज सिंह थापालाई दिएपछि इलाममा पहिलो पटक चिया बगान स्थापना भएको थियो, जसलाई हाल इलाम चिया बगानको नामले चिनिन्छ । त्यसैगरी सन् १८६५ (वि.सं. १९२२) मा सोक्तिम चिया बगानको स्थापना भएको थियो । नेपालको पहिलो चिया कारखाना इलाममा सन् १८७८ (वि.सं. १९३५) मा स्थापना भएको थियो ।
जंगबहादुर राणाको मृत्युपश्चात् जंग खलक र धीर खलकको सत्ताको तानातान र लुछाचुँडीले नेपाली आकाशमा कालो बादल मडारियो । सत्ताको दाउपेचमा पल्किएका शासकहरूले कृषिको विकासतर्फ उतिसारो ध्यान दिन सकेनन् । सीमित प्रविधिहरू दरबारमा मात्र सीमित भए भने ससाना कुलो बनाउनेजस्ता कार्यबाहेक अन्य कृषिको विकासका काम ठप्प भए । यता समग्र अर्थतन्त्र राणाको कब्जामा थियो । त्यस बेला नेपाल कृषिप्रधान मुलुक थियो भने देशका ९५ प्रतिशत जनता कृषिमा आश्रित थिए, तर अधिकांश तराई तथा पहाडकै पनि उब्जाउ भूमि राणा र उनका समर्थकको अधीनमा थियो । यिनीहरू यस्ता उब्जाउ जमिन बिर्ताको रूपमा दर्ता गराउँथे, बिर्ता जमिनको राजस्व तिर्नु पर्दैनथ्यो । यसले गर्दा सरकारलाई राजस्वमा ठूलो हानि हुन्थ्यो । ठूला–ठूला जग्गा पनि राणाका पेवाजस्तै थिए । कृषि परम्परागत थियो, शासकहरूबाट वैज्ञानिक तवरबाट कृषि उत्पादन बढाउने उपायबारे खासै कार्य अगाडि बढाइएन । किसानको अवस्था गएगुज्रेको थियो । धेरै पहिलादेखि चलिआएको बेदखली (अधिकारबाट वञ्चित गराइने काम), बेठ (ज्याला नपाई गर्नुपर्ने काम), बेगारी (ज्यालाबेगारको खेतालो), हलिया (ऋण लिएबापत खेतीको समयमा जमिनदारका खेतमा ऋण चुक्ता नभएसम्म श्रम गर्ने कृषि श्रमिक), बाँधा श्रम (जमिनदारबाट धन सापट लिएबापत सो सापटी नकटुन्जेलसम्मका लागि नोकरी गर्न कबुल गरेर बसाइने व्यक्ति) आदि प्रथाले किसान पीडित थिए । तैपनि नेपाली किसानले आफ्नो बलबुताले भ्याएसम्म खेतीपातीको काम गरेका थिए । पहाडका पाखाहरू ढुङ्गाका पर्खाल खडा गरी सम्याई तथा अजंगका पहाडहरू फोरी कुलो निकाली खेती गर्ने गर्थे, बीउअनुसारको बालो भन्ने नेपाली उखानै छ, त्यहीअनुसार धेरै बाली उब्जाउन राम्रो बीउको छनोट गर्थे । बीउ खानु भनेको जीउ खानुजस्तै हो भनी बीउ छुट्ट्याएर मात्र अन्य अनाज खान्थे । राम्रोसँग फलेर परिपक्व भइसकेका बालाहरू ल्याई सङ्कलन गर्ने र तीबाट पनि पुष्ट दानाहरूलाई मात्र बीउका लागि राख्थे । बीउ कीराबाट जोगाई लामो समयसम्म भण्डारण गर्नका लागि माटाका घैंटामा बीउ राखी खुर्सानीको धूलो, खरानी, निमको पात, तितेपाती साथै टिमुर राख्थे र बिर्को बन्द गर्थे । पहाडी क्षेत्रमा बर्सातको पानी तथा भेलबाट हुने भू–क्षय रोक्न तथा भू–स्खलनबाट जमिन जोगाउन कान्ला तथा बारीका डिलमा खर, बाँस, अम्रिसो साथै विभिन्न खाले डाले घाँसका बिरुवाहरू रोप्थे तथा जैविक छेकबारको निर्माण गर्थे । मकै बारीमा उर्वरा शक्ति कायम गर्न मकै बालीपछि मास, मस्याङको बाली लगाउनुपर्छ भन्ने तथा धान लगाएको खेतको आलीमा भटमास लगाउनुपर्छ भन्ने विषयको ज्ञान नेपाली किसानहरूले धेरै वर्ष अगाडिदेखि पाई प्रयोगमा ल्याएका थिए । किसानहरूले धेरै वर्ष अगाडिदेखि कृषि उपजहरूको प्रशोधनसम्बन्धी प्रविधि तथा उपकरणहरू उत्पादन साथै ढुवानीसँग सम्बन्धित विविध तेल पेल्ने कोल, उखु पेल्ने कोल, चुक अमिलो बनाउने कोल, ढिकी, जाँतो, ओखल, पानी घट्टहरू, कुटो, कोदालो, हँसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी आदि प्रयोग तथा अनेक प्रविधिहरूको विकास त त्यस बेला भएको थियो, जुन आजसम्मपनि नेपाली समाज विद्यमान छ ।
नेपालमा राणाकालीन शासनका बेला प्रथम विश्वयुद्ध भयो, यो युद्धले थिलथिलो पारेको विश्व साथै त्यस बेला नेपालमा पारेको असरले तथा त्यो असरको दलदलबाट माथि उक्सन राणा प्रधानमन्त्री चन्द्रशमशेरले कृषिक्षेत्रको विकासबाट सम्भवदेखि कृषि विकासको संस्थागत विकासको थालनी गर्नुभयो । वि.सं. १९७८ मा चारखालमा पहिलो कृषिसम्बन्धी काम गर्ने कृषि अड्डाको स्थापना गरे । चन्द्रशमशेरकै पालामा सप्तरी जिल्लाको उत्तर–पश्चिम फत्तेपुरस्थित त्रियुगा नदीमा चन्द्र नहर निर्माण गरिएको थियो । यो नहर नेपालकै पहिलो आधुनिक नहर हो । यसको निर्माण कार्य वि.सं. १९७९ मा सुरु भई वि.सं. १९८५ मा सम्पन्न भएको थियो । उन्नत अन्नपात, फलफूल, उन्नत दुधालु जातका गाईभैंसी, धेरै फुल पार्ने पानी हाँस, साथै कुखुराहरू सर्वसाधारणको पहुँचमा पु¥याउन वि. सं. १९८२ मा सिंहदरबार परिसरमा कृषि प्रदर्शन फार्म खुल्यो । यसै वर्षबाट कृषि अड्डालाई कृषि विभागमा परिवर्तन गरियो । सिंहदरबार परिसरमा स्थापित फार्मले कृषिका अन्नपात, सागसब्जीका बीउबिजन निकाली परीक्षण गरेर कृषकहरूलाई वितरण गर्ने प्रबन्ध मिलाएको थियो । अहिले पनि गाउँघरमा स्थानीय रूपमा पाइने लेकाली मुडुला गहुँ, बासमती धान, कैला भटमास, ग्याठकोबी, बन्दाकोबी, गाजर, चुकुन्दर, बेलायती मटर, ठूला गोलभेंडा इत्यादि यही फार्मका देन हुन् भनिन्छ । चन्द्रशमशेरका पालामा युवाहरूलाई कृषि पढ्न विदेश पठाउने र तिनीहरूलाई नेपालमा काममा लगाउने जस्ता काम पनि भए । कृषिक्षेत्रमा लगानी गर्ने तेजारथ अड्डाको स्थापना गरी कृषकहरूलाई ऋण लगानी गर्ने काम पनि त्यति बेला भएको थियो । चन्द्रशमशेर राणाकै पालामा मधेसको अन्न काठमाडौं ल्याउन रक्सौलबाट अमलेखगन्जसम्म रेल्वे, अमलेखगन्जबाट भीमफेदीसम्म मोटरबाटो, भीमफेदीदेखि मातातीर्थ सम्म रोपवे र मातातीर्थदेखि मोटर ट्रेलवे निर्माण गरी सञ्चालन भएको थियो । कृषि वस्तु निकासी तथा पैठारी गर्न पनि बजार अड्डाको स्थापना यसै समयमा भएको थियो । दास प्रथा, सती प्रथाजस्ता नेपाली समाजमा वर्षौंदेखि चलिआएका कुप्रथाको पनि अन्त्य चन्द्रशमशेरले गरेका थिए । चन्द्र शमशेरको मृत्यु वि.सं. १९८६ मंसिर ११ गते भयो । उनको मृत्युले नेपाली कृषिमा अपुरणीय क्षेती पर्न गयो ।
चन्द्रशमशेरको मृत्युपश्चात् कृषिको विकासले खासै गति लिन सकेन । पछि कृषिको समग्र विकास गर्ने उद्देश्यले वि.सं. १९९४ मा कृषि परिषद्को गठन भयो । परिषद्बाट कृषि विकासका लागि कृषि फार्महरू खोल्ने, सर्वेक्षण गर्ने जस्ता कार्यहरू भए । छाउनी, बालाजु र गोदावरीमा फलफूल नर्सरी स्थापना भयो । वि.सं. १९९७ मा सदर इम्पेरिमेन्टल फार्म, तहाचलमा परीक्षणका रूपमा केही तरकारी बीउ उत्पादन गरी जुद्ध सडकस्थित बीज भण्डारबाट बिक्री सुरु गरियो । वि. सं. १९९८ मा त्रिपुरेश्वरमा भेटेरिनरी अस्पतालको स्थापना भयो । त्यसै वर्ष नहर शाखाको समेत स्थापना भयो । वि. सं. २००० मा मकवानपुरको चित्लाङ र नुवाकोटको ककनीमा भेडा फार्महरू खुले । वि.सं. २००४ मा परवानीपुर सेन्ट्रल एक्सपेरिमेन्टल एन्ड रिसर्च फार्म खडा गरी कृषि अनुसन्धानलाई जोड दिन थालियो । यसै वर्षबाट भारतको मोतीहारी जिल्लाबाट विभिन्न जातका ५ हजार माछाका भुरा ल्याई सानो टुँडिखेलको पोखरीमा माछापालनको सुरुवात गरियो । यसैलाई नेपालमा आधुनिक मत्स्यपालनको सुरुवात भन्ने गरिन्छ । मोहन शमशेरका पालामा गरिएको सो कार्यका लागि रु. ३ सय निकासा भएको थियो भनिन्छ । यसरी १ सय ३ वर्षे राणाकालमा कृषि विकासको संस्थागत प्रयास भएको पाइन्छ । — टेकप्रसाद बास्तोला