शिक्षकको जबरजस्तीः कक्षामै विद्यार्थीको कपाल‘बाँदे मुढाई’ «

शिक्षकको जबरजस्तीः कक्षामै विद्यार्थीको कपाल‘बाँदे मुढाई’

तिला गाउँपालिका–८ स्थित देउराली मावि जुम्लाकोटका प्रधानाध्यापक राम भजन यादवले असहमतीमै कक्षा कोठामा जर्बरजस्तीले भेडाबाख्राको कपाल काटेजस्तो (बाँदे मुढाई) शैलीमा कपाल काटि दिएका छन् । अटेरी गरेको भन्दै प्रअ यादवले कक्षा ९ मा पढ्ने तीन जना विद्यार्थीको जर्बरजस्ती कपाल बाँदे मुढाई रूपमा काटी दिएका हुन् ।
भोलि कपाल काटेर आउँछु, आज काट्दिन भन्ने तीन जनाको कपाल बाँदेमुढाइ गरेको, अटेरी गर्ने दुई जना विद्यार्थीलाई समेत कक्षा कोठाबाटै बाहिर पठाएका भिडियो सार्वजानिक भएको छ ।
सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीलाई अनिवार्य पोशाकको व्यवस्था गरे पनि शिक्षक कहिले पनि विद्यालय पोसाक लगाएर आउँदैनन् । तर, विद्यार्थीले २÷३ दिन कपाल नकाट्दैमा कक्षा कोठामा जबरजस्ती प्रअले विद्यार्थीलाई हतोसाहित हुने गरी बाँदेमुढाइ शैलीमा कपाल काट्नु बाल अधिकार र मानव अधिकारविपरीत भएको मानव अधिकारकर्मी बताउँछन् ।
भिडियोमा तीन विद्यार्थीको जर्बरजस्ती कपाल काटेर छोडेको, दुई जना विद्यार्थीले अटेरी गरेपछि कक्षाबाट निकालिएको र अन्यलाई धम्क्याएर कपाल काटेको देखिन्छ । भने, जसले भनेको मान्दैन त्यसलाई विद्यालयमा पढ्न समेत नदिने भनेर प्रअ यादवले धम्काएका थिए ।
एक विद्यार्थीले भने,“भोलि काटेर आउँछौ भन्दा भन्दै सरले जर्बरजस्ती कपाल काटिदिएपछि चारपाटे मुन्डन गरेको, सजाय दिएको र मानव अधिकार, बाल अधिकारको हनन् भए जस्तो महसुस भयो । कक्षामा सबै विद्यार्थी हाँस्दा निकै लाज लाग्यो र भोलि विद्यालय जान पनि अप्ठ्यारो लागेको छ ।”
यता विद्यालयका प्रधानाध्यापक रामभजन यादव गलत नियतले नभई धेरै पटक कपाल काटेर आउनुभन्दा अटेरी गरेकाले सम्झाउनका लागि कक्षामा कपाल काटेको बताउँछन् । यद्यपि, सामाजिक सञ्जालमा भिडियो हाल्नु गलत भएको स्वीकार गरे ।
२/४ जना विद्यार्थीले नटेरेको, अनुशासनको पालन नगरेकोले अनुशासन पालन गराउनका लागि कक्षा कोठामै कपाल काटी दिएको बताए । भोलिदेखि विद्यालय आउदा स्कुलको पोसाक, सरसफाइ र कपाल काटेर आउ भनेर सम्झाएको उनको दाबी छ ।
देउराली मावि विद्यालयकै फेसबुकबाट सार्वजनिक भिडियोमा भिडियो गर्ने व्यक्तिले चारपाटे बनाइदिनुपर्छ भनेको, र प्रअले जर्बरजस्ती धम्काउदै कपाल काटेको देखिएको छ । भिडियाको चर्को आलोचना भएपछि भने भिडियो सामाजिक सञ्जालबाट हटाइएको छ ।
मानसिक रूपमा गम्भीर असर पर्छ
मनोविर्मशकता नन्दराज आर्चाय भन्छन्,“कुनै पनि कारणले सबै विद्यार्थीका माझ एक जनालाई सजाय दिनु दण्डित गर्नु गलत हो । यसले बालबालिकामा ट्रमाटिक स्ट्रेस ( अर्थात दिमागमा आज्ञातजन्य तनाव)को असर मानसिक रुपमा पर्छ । सबैका अगाडी बेइजत हुँदा किशोर किशोरीले आत्महत्या सम्मको समेत प्रयास गर्छन् । यस्ता घटनामा शिक्षकहरू निकै गम्भीर हुनुपर्छ ।”
हेर्दा सामान्य देखिए पनि यस्ता घटनाले पछिसम्म पनि असर गर्ने, ठूलो रूप लिनेसमेत उनको भनाइ छ । कक्षामा कपाल काट्ने, जथाभावी धम्काउने जस्ता कार्यले विद्यार्थीले आफुप्रति हिनताबोध गर्ने,पढाइप्रति रुचि नराख्ने, शिक्षक प्रति समेत इगो लिने र मानसिक रुपमै समस्या पैदा हुने जस्ता समस्या निम्तिने मनोविर्मश कर्ता आर्चायले जानकारी दिए ।
यता तिला गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनमाया खत्रीले त्यो भिडियो आफूले नगरेको अनुशासन पालाना नगरेको भन्दैमा कक्षामा कपाल काट्नु गलत भएको बताइन् । भिडियो हेरेर आबश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्