Logo

संसदीय छानबिन विशेष समितिका सदस्य हेरफेर

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानबिन विशेष समितिको सदस्य हेरफेर गरिएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो संसदीय छानबिन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई जिममेवारी तोकेका छन् । जस अनुसार सो समितिमा अब नेपाली कांग्रेसको तर्फबाट सांसद विश्वकर्मा रहने छन् ।
“प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानबिन विशेष समितिमा माननीय श्री पुष्पा भुसाल गौतमको स्थानमा माननीय श्री मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु” सभामुख सापकोटाले भने, “प्रस्तावित हेरफेरलाई सहमति जनाई दिनहुन अनुरोध गर्दछु । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।”
नेपाली कांग्रेसकी सांसद भुसालले प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छिन् । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानबिन गर्न गत २२ असारमा सो संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्