उपसभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता

संघीय संसद् प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभाको उपसभामुख पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम र नेकपा एमालेको तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका हुन् ।
भुसालले बिहीबार संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएकी छन् । भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरी छन् ।
एमालेको तर्फबाट उम्मेदवार भट्टराईको प्रस्तावकमा सांसद शान्ता चौधरी छन् भने समर्थकमा सांसद कृष्णभक्त पोखरेल छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल गौतमले आफू निर्वाचित भए प्रतिनिधिसभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रुपमा सञ्चालन गर्न भूमिका खेल्ने बताइन् । उनले आफ्नो भूमिका संवैधानिक परिषद्मा पनि हुने उल्लेख गर्दै सो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
उनले भनिन्, “प्रतिनिधिसभाको उपसभामुख भन्नेबित्तिकै सदनलाई तटस्थ ढंगबाट, स्वतन्त्र ढंगबाट अत्यन्त प्रभावकारी ढंगबाट सदनलाई अगाडि बढाउनका लागि एउटा खालको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सदनसँग जोडिएका, मुलुकको राष्ट्रिय राजनीतिसँग जोडिएका, आम नेपाली जनतासँग सरोकारयुक्त विषयवस्तुहरुलाई पनि सदनमा अत्यन्त प्रभावकारी ढंगबाट उठाउनको लागि पनि सहयोग गर्नुपर्ने अवस्थाको सिर्जना पनि हुन्छ । संविधान कार्यान्वयनको विषयमा संसदको जुन प्रभावकारी भूमिका हुनुपर्दछ, संविधानलाई कार्यान्वयन गर्नका लागि पनि सदनले प्रभावकारी भूमिका खेलोस् । त्यसको लागि पनि मेरो भूमिका निर्वाचित भएँ भने प्रभावकारी ढंगबाट अगाडि बढाउनेछु भन्ने विश्वस्त गराउन चाहन्छु । संवैधानिक परिषद्मा जुन भूमिकाको अपेक्षा गरेको छ संविधानले, त्योअनुसार आफ्नो भूमिकालाई इमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
त्यस्तै, सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै एमालेको तर्फबाट उम्मेदवार विद्या भट्टराईले एमालेको निरन्तरको दबाबका कारण उपसभामुख चयन प्रक्रिया अगाडि बढेको बताइन् । उनले उपसभामुख निर्वाचित हुनका लागि पार्टीले मात्रै निश्चित नगर्ने नभई विभिन्न मापदण्डहरु हुने र आफूले सबै मापदण्ड पूरा गर्ने हिसावले उम्मेदवारी दिएको बताइन् । उनले भनिन्, “उपसभामुख पद भनेको संसदको एउटा महत्वपूर्ण पद हो । त्यहाँ पार्टीको कुराले मात्रै निश्चित गर्छ जस्तो मलाई लाग्दैन । उपसभामुख पदका लागि अरु धेरै मापदण्डहरु पनि हुन्छन् । त्यो मापदण्ड मिट गर्ने हिसावले पार्टीले जुन ढंगले उम्मेदवारी दिने फैसला गरेको छ, त्यसको लागि पार्टीप्रति आभार व्यक्त गर्न चाहन्छु । कहिलेकाहीँ तपाईंले जुन गणितीय कुरा देख्नुहुन्छ, गणितीय कुराहरु पनि प्रक्रियाहरुले अवरुद्ध गर्न पनि सक्छन् । जुन कुरा हुनेछ कि भन्ने मैले ठानेको छु ।” उनले आफू निर्वाचित हुने विश्वास व्यक्त गरिन् ।
कार्यकाल सकिन करिब ६ महिना बाँकी हुँदा उपसभामुखको चुनाव हुन लागेको हो । शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । यसका लागि बिहीबार बिहान ११ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको थियो ।
६ माघ २०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधिसभा उपसभामुखविहीन छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान संविधानमा छ । संसदीय अंकगणित हेर्दा उपसभामुख पनि गठबन्धनले नै हात पार्ने देखिएको छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत प्रतिनिधिसभामा छ । प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, नेकपा एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।