दरबाङलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण «

दरबाङलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारलाई नदी कटानबाट जोगाउन पक्की पर्खाल निर्माण भएको छ । म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको हो । मालिकाले दुई खण्डमा एक करोडभन्दा बढीको लागतमा पक्की पर्खाल निर्माण भएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले दुईवटै खण्डको पर्खाल निर्माणको काम सकिएको जानकारी दिए ।
४२ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ मा हिमालयन बिल्डर्स एण्ड कन्स्ट्रक्सनले ५६ लाखमा ठेक्का लिएको थियो । चालू आव २०७८/०७९ मा कार्यशक्ति कन्स्ट्रक्सनले ५६ मिटर लामो र सात मिटर अग्लो पक्की पर्खाल बनाउन ६४ लाखमा ठेक्का लिएको थियो । मालिका गाउँपालिकाका इन्जिनियर नमोनारायण ढुंगानाका अनुसार गत आर्थिक वर्षमा ८० लाख र चालू आर्थिक वर्षमा एक करोड विनियोजन भएकोमा प्रतिस्पर्धाका क्रममा कम कबोलेका हिमालयन र कार्यशक्तिले ठेक्का पाएका हुन् ।
हिमालयन बिल्डर्सले २१ जेठमा पर्खाल ढलानका क्रममा तोकिएको र सम्झौताअनुसारको निर्माण सामग्री प्रयोग नगरेको भेटिएपछि भत्काएर पुनः बनाउन लगाइएको थियो । यसपालि गाउँपालिकाबाहेक प्रदेश सरकारमार्फत पनि १० मिटर थप पक्की पर्खाल निर्माण भएको छ । गत वर्ष निर्माणाधीन पर्खालमा क्षति पु¥याएको बाढीले बजारतर्फ कटान गरेर एक घर, जनप्रिय माविको भवन र खेलमैदान भत्किएको थियो । करिब तीन सय घरधुरीको बसोबास रहेको दरबाङ बजार पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटानको जोखिममा छ ।
वि.सं २०७६ सम्म हिउँदमा ग्याबियन पर्खाल निर्माण गर्ने र बर्खामा बाढीले बगाउने समस्या थियो । वि.सं २०७७ मा निर्माण भएको आरसिसी पर्खाल कटान रोकथाममा प्रभावकारी बनेपछि सोही प्रविधिको पर्खाल बनाउने योजनालाई निरन्तरता दिइएको मालिका–६ का निवर्तमान वडाध्यक्ष सन्तोष सुवेदीले बताए । सो वर्ष नदी किनारमा ४५ मिटर लामो, सात मिटर अग्लो र ५० सेन्टिमिटर बाक्लो आरसिसी पक्की पर्खाल निर्माण गरिएको थियो । पक्की पर्खाल निर्माण भएपछि बर्खायाम समयमा दरबाङ बजारवासीले सुरक्षित महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्