विपक्षी भन्छ– प्रतिबद्धताविपरीत काम
मूल उद्देश्यमा सरकार सफल : माओवादी

नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धन सरकार आफ्नो मूल उद्देश्यमा सफल भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता गजुरेलले वर्तमान सत्तारुढ गठबन्धन आफ्नो मूल उद्देश्यमा सफल भएको बताएका हुन् ।
उनले भने, “सरकार प्रतिगमन विरोधी मोर्चामा चाहिँ सफल भयो । पहिलेको सरकारको तुलनामा त्यस्तो धेरै आक्षेप, आरोप पनि यसले भोग्नुपरेन । पछिल्ला केही विषयहरु आएका छन्, त्यो त छानबिनकै प्रक्रियामा छ । खासगरी कोभिड विरुद्धको संघर्षमा सरकारको काम प्रभावकारी भयो । सापेक्ष रुपमा सरकारले जुन बजेट ल्यायो, त्यो बजेट पनि सन्तुलनको बजेट नै छ । जनमुखी बजेट आएको छ । त्यस अर्थमा सकारात्मक छ । तर कमी, कमजोरी त धेरै छन् । यसको मूल उद्देश्यमा सफल भएको छ । चुनावमा पनि गठबन्धन बनाएरै गयो । पश्चगामी शक्तिलाई कमजोर बनायो । अर्थतन्त्र पनि जसरी धरासायी हुन्छ भन्ने चिन्ता थियो, त्यसलाई स्थिर राख्ने नै कोशिस ग¥यो । राष्ट्र बैंकसँग केही टसल परे पनि त्यसलाई पनि व्यवस्थापन ग¥यो । त्यो हिसावले सफल भयो ।”
उनले सरकार प्रतिगमन विरोधी मोर्चामा सफल भएको बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर पश्चगामी शक्तिलाई कमजोर बनाइएको पनि बताए । नेता गजुरेलले सरकारले कोभिड–१९ विरुद्धको संघर्षमा प्रभावकारी काम गरेको बताए । उनले सरकारले सन्तुलित र जनमुखी बजेट ल्याएको उल्लेख गरे । अर्थतन्त्र धरासायी हुने चिन्ताको बीचमा सरकारले अर्थतन्त्रलाई स्थिर राख्ने कोशिस गरेको उनको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता डा. भीम रावलले भने सरकारले आफ्नो प्रतिवद्धता विपरितका काम गरेको बताए । उनले सरकारले राष्ट्रिय हितको सुरक्षा गर्न नसकेको बताए । सरकारले परराष्ट्र नीतिलाई संविधान बमोजिम अगाडि बढाउन नसकेको उनको भनाइ छ । उनले सरकारले साझा न्यूनतम कार्यक्रम अनुरुप काम गर्न नसकेको बताए । उनले भने, “एक वर्षमा प्रधानमन्त्री शेरबहादुर देउवाजीको नेतृत्वको गठबन्धन सरकारले जे गर्छु भनेको थियो, त्यसको ठिक उल्टो गरेको छ । न राष्ट्रिय हितको सुरक्षा गरेको छ । न परराष्ट्र नीतिलाई नेपालको संविधान बमोजिम अगाडि बढाएको छ । न अर्थतन्त्रलाई अगाडि बढाएको छ । गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम त कुन रद्दीको टोकरीमा छ अत्तोपत्तो नै छैन ।”
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गरे । देशको आर्थिक अवस्थाको सम्बन्धमा सरकार गम्भीर नभएको उनले बताए । उनले जनतालाई समयमा मल, बीउ उपलब्ध गराउन नसक्नु सरकारको असफलता भएको बताए । सरकारले जनतालाई आपद्विपत पर्दा सेवा, सुविधा र सुरक्षा दिन नसकेको उनको भनाइ छ । उनले भने,“सरकारको केही पनि काम भएको छैन । अहिले देशको जुन आर्थिक अवस्था छ, त्यो सम्बन्धमा सरकार गम्भिर भएको छैन । महँगी चरम सीमामा छ । रोपाइँ भइसक्यो अहिले खेत सुकिराखेको छ । मधेसमा जग्गा छ तर सिँचाइको प्रवन्ध छैन । बीउको प्रबन्ध छैन । मल अहिलेसम्म पु¥याएको छैन । सरकारको काम त आपतविपत पर्दा जनतालाई सेवा दिने हो । सुरक्षा दिने हो, सुविधा दिने हो । त्यो काम कहीँ पनि भइराखेको छैन । त्यसकारण सन्तोषप्रद काम यो सरकारबाट भएको छैन ।”