‘एमालेले राष्ट्रिय सरकार गठनको पहल गर्छ’ «

‘एमालेले राष्ट्रिय सरकार गठनको पहल गर्छ’

नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएकी छन् ।
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले उनले भनिन्, “प्रमुख प्रतिपक्षी दलको हैसियतले मात्रै नभएर मुलुकको एउटा जिम्मेवार नागरिकको हैसियतबाट हेर्दा यो सरकार चर्चा गर्न लायक नै छैन । एक वर्षको बीचमा यो सरकारले गरेको एउटा पनि राम्रो काम भेटिँदैन । जताततै बेथितिमात्रै छ । भ्रष्टाचार अनि भ्रष्टाचारमात्रै छ । कमिस नै कमिसन छ । लुटपाट, हत्या, बलात्कारजस्ता गतिविधिबाट जनता आक्रान्त बनेका छन् । यो सरकार जति दिन रहन्छ, राष्ट्र र जनताको निम्ति बोझ बन्ने कुरा स्पष्ट रुपमा देखिएको छ ।”
उनले वर्तमान सरकार राष्ट्रियताको हिसाबले पनि असफल भएको दाबी गरिन् । उनले भनिन्, “यो सरकारको बारेमा राष्ट्रियताको हिसाबले हामीले समीक्षा गर्दा एमसीसी हुँदै एसपीपीसम्म आइपुग्दा यो सरकार राष्ट्रवादी रहेन । सरकार राष्ट्रको हितमा काम गर्दैन भन्ने कुरा हामीले प्रष्ट रुपमा देखेका छौं ।”
अर्थतन्त्रको हिसाबले पनि मुलुक पूरै असफल भएको आरोप अर्यालले लगाइन् । उनले भनिन्, “अर्थतन्त्रका सूचकहरु सबै धराशयी बने । सबै ऋणात्मक अवस्थामा छन् । अब यो मुलुकलाई असफल मुलुक भनेर घोषणा गर्नमात्रै बाँकी छ । केही समय यस्तै रह्यो भने आज जे श्रीलंकाले भोगिरहेको छ, भोलि नेपालले भोग्न सक्दैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन । हामी त्यही पथतिर अगाडि बढिरहेका त होइनौं भन्नेखालको स्थिति देखिएको छ ।”
अर्यालले सेवाको हिसाबले कुरा गर्दा पनि अहिले जनताको जीवन चौपट र कष्टकर बनिरहेको आरोप लगाइन् । उनले भनिन्, “महँगीले आकाश छोएको छ । महिनामा चार–चार पटकसम्म इन्धनको मूल्यवृद्धि भएको छ । मलको सिजनमा मल छैन, पढ्ने बेलामा विद्यार्थीको हातमा पुस्तक छैन । हत्या, आतंक बढिरहेको छ । जनताको सेवाको हिसाबले पनि सेवा प्रवाह ठीक ढंगले यो सरकारले दिनै सकेको छैन ।”
उनले वर्तमान पाँच दलीय गठबन्धनलाई स्वार्थको मिलनमात्रै भएको आरोप लगाईन् । उनले थपिन्, “राजनीतिक हिसाबले यो गठबन्धन स्वार्थको मिलन हो । राष्ट्र र जनताको हितको निम्ति यो गठबन्धन बनेको होइन । यो गठबन्धन स्वार्थको गठबन्धन हो भन्ने कुरा छर्लङ्ग भएको छ । यो अपवित्र गठबन्धन हो । यो कुरा प्रमाणित भैसकेको छ। किनकी राष्ट्रिय जिम्मेवारी र जनताको जवाफदेहीबाट सरकार अलग छ । सरकार लुट्न व्यस्त छ । सरकार जहाँ पैसा पाइन्छ, त्यही काममा व्यस्त छ ।”
उनले मुलुक अहिले पूरै अँध्यारो सुरुङभित्र गइरहेको पनि टिप्पणी गरिन् । उनले भनिन्, “अब धेरै ढिला भइरहेको छ मुलुकलाई ठीक ट्रयाकमा हिँडाउनको लागि । यो गठबन्धनको सरकार जति दिन रहन्छ, त्यति नै राष्ट्र संकटमा रहन्छ । यो राष्ट्रको अफापसिद्ध गठबन्धन, जनताको निम्ति बोझ थप्ने गठबन्धन हो । यो गठबन्धनको विकल्प खोज्ने बेला भएको छ । यस्तै हो भने जनता विद्रोह गरेर सडकमा निस्किने परिस्थिति बन्छ । प्रमुख प्रतिपक्षी दलको हैसियतमा हामीले संसद्मा सरकारबाट भएका नराम्रा कामको बारेमा विरोध गरेका छौं । सही दिशामा लैजान लागि हामीले ध्यानाकर्षण गराएका छौं ।” उनले अब विलम्ब नगरीकन गठबन्धनको विकल्प खोज्ने बेला भएको पनि बताइन् । उनले भनिन्, “एमालेले सदनबाट आवाज उठाइरहेको छ । संघर्ष गरिरहेको छ । त्यहाँबाट सुनवाइ भएन भने अब एमालेले सडक तताउनेछ । सडकबाट आन्दोलन गरेर गठबन्धनको विकल्प खोज्नेछ । एमालेले राष्ट्रिय सरकार गठनको लागि पहल गर्नेछ । किनकी यो सरकार चुनाव गर्नको लागि पनि लायक छैन, योग्य छैन, सक्षम छैन । यसले चुनाव गर्न सक्दैन ।”

प्रतिक्रिया दिनुहोस्