भक्तपुरमा सन्राइज बैंकको निःशुल्क स्वास्थ्य शिविर «

भक्तपुरमा सन्राइज बैंकको निःशुल्क स्वास्थ्य शिविर

सन्राइज बैंकको भक्तपुर शाखाले स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरबारे जनचेतना अभिवृद्धि कार्यक्रम र निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनचेतना अभिवृद्धि गर्ने तथा सम्भावित रोग समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले दुई दिने कार्यक्रम गरिएको भक्तपुर शाखा प्रबन्धक नीरज अमात्यले जानकारी दिए । कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा वरदायणी आधारभूत विद्यालयको प्रांगण भगवती स्थानमा गरिएको हो ।
२३ र २५ असारमा दुई दिन चलेको उक्त अन्तरक्रिया तथा स्तन र पाठेघर परीक्षण शिविरमा १२० जना महिला सहभागी भएका थिए । सो स्वास्थ्य जाँचपछि निःशुल्क औषधी पनि वितरण गरिएको छ । बंैकले केही समय अगाडी पनि नेपाल मधुमेही समाजसँगको सहकार्यमा काठमाडौंको ओमबहालमा निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको थियो ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलालाई ५ लाखसम्मको घातक रोगको उपचार खर्च दिइरहेको छ । महिलामा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोगसहितका १८ घातक रोग यस योजनामा समेटिएको बैंकले जनाएको छ । बैंकले महिलालाई प्रसुति खर्चस्वरुप दस हजार रुपैयाँसम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी १ लाखसम्म बिमाबापतको रकमसमेत दिँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्