मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल «

मुलुकमा वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल

ग्लोबल आइएमई बैंकले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराएका थिए ।
“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ” उनले भने, “भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ ।”
अध्यक्ष ढकालले आइएमई समूहले नेपाल सरकारको प्राथमिकता र मुलुकको आवश्यकता अनुरुप आफ्ना व्यावसायिक गतिविधिहरु अगाडि बढाउँदै आएको बताए ।
“आइएमई रेमिट सुरु गरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिकमाध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ” उनले भने, “हामीले रेमिट्यान्स सेवा सुरुगर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकहरुले पनि पैसा पठाउन प¥यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ ।”
हाल मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको र रेमिट्यान्सको आप्रवाह पनि घटेको अवस्थामा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने र नेपालमा थप वैदेशिक लगानी भित्र्उनुपर्ने छ, यसमा पनि हामी फ्रन्टलाइनमा रहेर काम गर्न चाहेको उनले बताए ।
अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीले भूमिका खेल्नुपर्ने बताए ।
गैर आवासीय नेपाली संघसँग आफूहरुको सहकार्य सुरुभइसकेको बताउँदै उनले गैर आवासीय नेपालीहरुले स्थापना गरेको एनआरएन फन्डबाट लगानी जुटाई लम्जुङ जिल्लामा २७ मेगावाटको जलविद्युत आयोजना निर्माण सकिएर परिक्षण प्रसारणको चरणमा रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा जानकारी दिए ।
कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवासीय नेपाली संघका प्रतिनिधि तथा नेपाली समुदायको सहभागिता रहेको थियो ।
यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन युकेसँगको अन्तरक्रियामा अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्तालाई सहजीकरण गर्न एशोसिएसनलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्