Logo

वसन्त चौधरीलाई छिन्नलता गीत पुरस्कार

कवि एवं गीतकार वसन्त चौधरी २०७८ को ‘छिन्नलता गीत पुरस्कार’ बाट सम्मानित भएका छन् । वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १००औं जन्मजयन्ती तथा ४०औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा गीत रचना विधातर्फको पुरस्कार तथा सम्मान गीतकार चौधरीलाई प्रदान गरिएको हो ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गीतकार चौधरीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका थिए । गीतकार चौधरी प्रेमलाई केन्द्रीय भाव बनाएर गीत तथा कविता लेख्न खप्पिस स्रष्टा हुन् । नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी उनले ८ वटा एल्बम ल्याइसकेका छन् । कविता रचनामा विशेष रुचि भएका चौधरीले नेपाली संस्कृति र कलाको विस्तारमा विश्वका २१ वटा सहरमा गीत तथा कविताका कार्यक्रम पस्किइसकेका छन् ।
उनलाई देशको समृद्धिका निम्ति गरेका योगदानका कारण स्वदेश तथा विदेशका महत्वपूर्ण सम्मान तथा पुरस्कार प्राप्त भइसकेका छन् । नेपाली गीत–संगीतप्रति श्रद्धाभाव राखी देश सेवामा समर्पित रहेका चौधरीको गीतकारिताको सम्मान गर्दै २०७८ को ‘छिन्नलता गीत पुरस्कार’बाट सम्मान गरिएको छिन्नलता गीत पुरस्कार गुठीले जनाएको छ ।
गुठीले २०७६, २०७७ र २०७८ मा छनोट भएका स्रष्टा तथा सर्जकलाई छिन्नलता गीत पुरस्कार तथा सम्मान प्रदान गरेको थियो । २०७८ को छिन्नलता पुरस्कार पाउनेमा गीतकार चौधरीसहित संगीत रचनातर्फ आनन्द राई र गायनतर्फ पवित्र सुब्बा रहेका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभाको पुरस्कार गायिका एलिना चौहानले पाएकी छन् भने विशेष सम्मान वरिष्ठ संगीतकार कर्म योञ्जनलाई गरिएको छ ।
यसैगरी २०७६ का लागि छिन्नलता गीत पुरस्कारतर्फ गीत रचना विधामा जसयोञ्जन प्यासी, संगीत रचनातर्फ हरि लम्साल, गायनतर्फ सुनिता सुब्बालाई सम्मान गरिएको छ । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार गायिका अस्मिता अधिकारीले पाएकी छन् ।
२०७७ का लागि गीत रचना विधामा आनन्द अधिकारी, संगीत रचनातर्फ शान्तिराम राई र गायनतर्फ शम्भु राई पुरस्कृत भएका छन् । यो वर्षका लागि लोकप्रिय युवा प्रतिभा पुरस्कार मिलन नेवारले पाएको गुठीका सचिव दिनेश अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्