वैदेशिक अध्ययनमा जानेलाई सर्तसहित विदेशी मुद्रा सटही सुविधा दिन जोड

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले विदेश अध्ययनमा जानेलाई सटही सुविधा दिन शर्त राख्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा पाण्डेले नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति घट्न नदिनको लागि नीतिगत व्यवस्था गरेर सर्त राख्नुपर्ने बताए । उनले चालु आर्थिक वर्षको १० महिनामा विदेशमा पढ्न जानेलाई राष्ट्र बैंकले ५१ अर्ब रुपैयाँ दिएको बताए । पाण्डेले विदेशमा गएर रेमिट्यान्स सहयोग भए÷नभएको वा राष्ट्रलाई योगदान पुग्ने अवस्थामा मात्रै पैसा दिने गरी व्यवस्था गर्दा राम्रो हुने बताए । उनले नेपालको ठूलो रकम विकशित मुलुकमा जाने तर मुलुकलाई कुनै योगदान नहुने अवस्था गरेको बताए ।
पूर्व अर्थमन्त्री पाण्डेले यस्तो नीतिले सर्वसाधरण जनता भन्दा सुकिला मुकिला मान्छेहरुको लागि मात्रै फाइदा भएको बताए । उनले सरकारले नै विदेश जानको लागि सहयोग गरिरहेको देखिएको दाबी गरे । पूर्वमन्त्री पाण्डेले राष्ट्र बैंकले बाह्य क्षेत्रको दबाबलाई व्यवस्थित गर्न बनाउने नीतिले अर्थतन्त्रमा दोहोरो समस्या पर्नसक्ने भन्दै राष्ट्र बैंकलाई सचेत गराए । उनले यो नीतिले पछिल्लो समय घट्दै गएको विदेशी मुद्रा सञ्चितिमा चाप पर्नसक्ने र आर्थिक गतिविधि सिथिल हुन सक्ने जिकिर गरे । पाण्डेले अर्थतन्त्रका सबै सूचकमा चाप रहेकाले सरकारले अगाडि सारेको लक्ष्य पूरा हुन नसक्ने बताए । उनले आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फिर्ति ७ प्रतिशत कायम राख्न सरकारको लक्ष्य भए पनि पूरा नहुने देखिएको बताए ।
नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले बैंकबाट जाने कर्जा सीमित व्यक्तिको पहुँचमा रहेकाले अर्थतन्त्रमा समस्या भएको बताए । उनले बैंकले केही समूहलाई मात्रै लगानी गर्दा घरेलु तथा साना उद्योगहरुले कर्जा नपाएको बताए । उनले सीमित घरानालाई मात्रै बैंकिङ कर्जा वितरणले भविष्यमा अर्थतन्त्रमा जोखिम ल्याउने भन्दै राष्ट्र बैंकको ध्यान त्यता जानुपर्ने सुझाव दिए । भण्डारीले केही व्यवसायिक घरानालाई मात्रै बैंकिङ कर्जालाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।