डेंगु अर्थात् लामखुट्टेको टोकाइबाट सतर्क रहौं «

डेंगु अर्थात् लामखुट्टेको टोकाइबाट सतर्क रहौं

गर्मी महिना सुरु हुनेबित्तिकै बर्सातको पनि सुरुवात हुने गर्छ । वर्षाको कारण जताततै हिलो देखिनुका साथै अत्यधिक मात्रामा भुसुना, साङ्लो र लामखुट्टेको संख्यामा वृद्धि हुने गर्छ । त्यसमाथि पनि आफू बस्ने स्थानवरपर धान बारी, झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने लामखुट्टेले यति धेरै सताउने गर्छ कि साँझ परेपछि बस्न निकै मुस्किल हुने गर्छ । त्यसैले गर्मी महिना लाग्नेबित्तिकै हामी लामखुट्टे टोकाइबाट जोगिनका लागि झुल, लामखुट्टे मार्ने धूप, इलेक्ट्रिक ब्याट, लिक्विड साथसाथै विभिन्न संयन्त्रहरूको प्रयोग गर्ने गर्छौं । त्यसमाथि गर्मी मौसममा अन्य समयमा भन्दा सरुवा रोगहरूको संक्रमण बढी हुने गर्छ । त्यसमध्ये पनि लामखुट्टेको टोकाइबाट डेंगु हुन सक्ने सम्भावना बढी हुने गर्छ । त्यसैले जुनसुकै रोग लाग्नुभन्दा पनि लाग्न नदिनु नै सर्वोत्तम उपाय हो । त्यसैले लामखुट्टेको टोकाइलाई सामान्य रूपमा नलिएर हामीले डेंगुका बारेमा बुझ्न र अरूलाई बुझाउन निकै नै आवश्यक छ ।
डेंगु एक प्रकारको ज्वरो हो, जुन डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । एडिज लामखट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्छ । यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । खास गरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मटीतेलका खाली ड्रमहरू, फूलदानी, गमला, पानीका ट्यांकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिन्छ । त्यसैले यस रोगको सुरुवातको लक्षण भनेको उच्च ज्वरो आउनु हो । यति मात्र नभई असाध्यै टाउको दुख्ने, आँखा गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ । साथै, डेंगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने हुनाले मानिसहरू सिकिस्त हुने गर्छन् । त्यसैले यस्ता लक्षणहरू देखिएमा तुरुन्तै अस्पताल गई उपचार गरिहाल्नुपर्छ । साथै यसबाट बच्न विभिन्न उपायहरू अपनाउन सकिन्छ र मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो ।
लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँहरू जस्तै ः पानीको ट्याङ्की तथा कुलरको पानी सफा राख्ने, गमला, फूलदान, खाली बट्टा, अलकत्रा वा मटीतेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन । आफू बस्ने स्थान वरपर सफा राख्नुपर्छ । सुत्दा अनिवार्य झुलको प्रयोग गर्नुपर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ, साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मल्हम, औषधि तथा मेसिनहरू प्रयोग गर्न सकिन्छ र घरको झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ । साथै, लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । यतिबेला तराई क्षेत्रहरूमा अधिकांश मात्रामा लामखुट्टे लाग्ने हुनाले त्यहाँ बस्ने मानिसहरूले पनि सतर्कता अपनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्