खोलामा माछा मार्न प्रतिबन्ध «

खोलामा माछा मार्न प्रतिबन्ध

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले स्थानीय खोलामा विभिन्न जातका १० हजार माछाका भुरा छोडेको छ ।
मत्स्य विकास केन्द्र मिर्मीको सहयोगमा अर्जुनचौपारीले रहु जातका तीन हजार, नैनी जातका तीन हजार र गर्दी जातका चार हजार गरी १० हजार माछाका भुरा खोलमा छोडेको हो । दरौंखोला, केवँरेखोला र दिर्जे खोलालाई माछापालनबाट आर्थिक उपार्जनमा जोड्न पालिकाको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणखोलामा माछाका भुरा छाडेको अध्यक्ष प्रकाश तिवारीले बताए । अबको १५ दिनमा थप पाँच हजार माछाका भुरा छोडिने र खोलालाई पालिकाले आर्थिक आर्जनको माध्यम बनाउने पूर्वतयारी स्वरुप माछाका भुरा छाडिएको हो ।
खोलामा माछा मारेर जीविकोपार्जनमा आश्रित र विज्ञसँगको सल्लाहका आधारमा खोलामा माछामा भुरा छोडिएको गाउँपालिकाले जनाएको छ । जलचरको संरक्षणका गाउँपालिकाले खोलाको तीन किलोमिटर क्षेत्रमा चार स्थानमा माछाका भुरा छाडेको हो भने पालिकाले आगामी आर्थिक वर्षमा एक लाख माछाका भुरा खोलामा छाड्ने योजना बनाएको छ ।
खोलमा माछाका भुरा छोडेसँगै पालिकाले कुनै पनितवरबाट खोलामा माछा मार्ने कार्य निषेध गरेको प्रमुख प्रशासकीय अधिकृत उज्ज्वलबहादुर बस्नेतले बताए । परम्परागत रूपले माछा मारी जीविकोपार्जन गरिरहेका समुदाय तथा व्यक्तिहरुले समेत माछा मार्न नपाउने र दैनिक जीविकोपार्जनमा कठिनाइ उत्पन्न भएमा पालिकाले राहत उपलब्ध गराउने भएको छ ।
जीविकोपार्जनमा कठिनाइ भएका व्यक्ति वा समुदायलाई पालिकाकामा राहतका लागि निवेदन दिन पालिकाले सूचितसमेत गरेको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, छिमेकी भीरकोट नगरपालिका र स्थानीय प्रहरी चौकीलाई समेत माछा मार्न निषेध गरिएको जानकारी गराउँदै आवश्यक सहयोगको अपिल गरेको छ ।
गाउँपालिकाको निर्देशनविपरीत माछा मारेको भेटिएमा वा खबर पाएमा कानुनबमोजिम कारबाही गरिने बताइएको छ । स्थानीय खोलामा माछा मारेर जीविकोपार्जन गर्ने अर्जुनचौपारीमा करिब एक दर्जन परिवार रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्