वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय «

वडाध्यक्ष लामाले चलाए सडकमै कार्यालय

चाँगुनारायण नगरपालिका–६ कार्यालयले सोमबार बिहान १० बजेदेखि नगरकोट सडकमै सेवाग्राहीलाई सेवा दिएको छ । वडाध्यक्ष धनबहादुर लामाले सडकमै मेच, टेबुल र वडाका कागजपत्र लिएर सडकमै बसेर जनतालाई सेवा दिँदै कमलविनायक नगरकोट सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायी र सरकारप्रति व्यंग्य गरेका हुन् ।
विगत आठ वर्षदेखि सडक निर्माण अलपत्र पारेर जनतालाई सास्ती दिने निर्माण व्यवसायी शारदा अधिकारीसँगको ठेक्का रद्द गरेर सडक निर्माण छिटो सम्पन्न गर्न माग गर्दै वडाध्यक्ष लामाले सडकबाटै वडाको सेवा दिएको बताए । उनले भने, ‘भक्तपुर नगरकोट सडक नबन्दा यहाँका जनताले कति दुःख पाएका छन् । सिंहदरबारमा हुइँकिने मन्त्रीलाई के थाहा, ठेक्का लिएर सडक अलपत्र पार्ने शारदाप्रसाद अधिकारीलाई के थाहा । यहाँका जनताले वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर काटेको सास्ती सहन नसकेर त्यसको विरोधमा आज सडकमै सेवा दिएको हुँ ।’
आफ्नो सांकेतिक विरोधले सरकारलाई सडक निर्माण छिटो सम्पन्न गर्न झकझकाओस् र नौ वर्षसम्म सडक निर्माण अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेर विकल्प खोजोस् भनेर सडकमै सेवा दिएको उनको भनाइ थियो । सडक अलपत्र पार्ने ठेकेदारलाई सरकारले पुरस्कार दिइरहने प्रवृत्ति हावी भएको भन्दै उनले आफू वडाध्यक्ष भएपछि सम्बन्धित निकायमा पटकपटक धाउँदा पनि सडक निर्माणमा चासो नदिएपछि बाध्य भएर सरकारलाई दबाब दिन सडकबाटै सेवा चलाएको बताए । सरकारले योे सडकखण्ड बन्ने निश्चित नगरेसम्म अब यहीँ सडकबाटै वडा कार्यालय चलाएर विरोध गर्ने भन्दै उनले शारदाप्रसाद अधिकारीलाई कारबाही गर्नुपर्ने माग गरे ।
यसअघि पनि भक्तपुर नगरकोट सडकखण्डमा स्थानीयवासीले ठेकेदार अधिकारीको फोटो नै गाडी र भित्ता भित्तामा टाँसेर विरोध जनाएका थिए भने मन्त्रीको गाडी सडकमै रोकेर अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्