रुपन्देहीमा खुल्यो १ अर्ब लगानीमा डायपर उद्योग «

रुपन्देहीमा खुल्यो १ अर्ब लगानीमा डायपर उद्योग

नेपालमै पहिलो पटक बेबी डायपर(बच्चाको नेपकिन कट्टु)को उत्पादन सुरु भएको छ । एजी हेल्थ इन्डस्ट्रिज प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ मधवलियामा उद्योग स्थापना गरी ‘सगुन बेबि पोको प्यान्टस’ ब्रान्डमा डायपरहरूको परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए ।
१ अर्बको लागतमा सुरु भएको यो नेपालको पहिलो उद्योग हो । उद्योग ४ बिगाहा क्षेत्र फलमा फैलिएको छ । नेपालमा प्रयोग गरिने सबै बेबि डायपरहरू भारत, चीनलगायत तेस्रो मुलुकबाट आयात हुन्छ, नेपालमै पहिलो पटक यो उद्योग खोलेर हामीले चुनौती मोलेकै हांै, बजारमा सम्भाव्यता अध्ययन र भारत र भुटानमा निर्यात गर्ने लक्ष्यसहित उद्योग स्थापना गरी उत्पादन सुरु भएको छ, उद्योगका अध्यक्ष अधिकारीले कारोबारसँग भने ।
उद्योगमा अमेरिका र चीनमा निर्मित अत्याधुनिक प्रविधिका मेसिनहरू जडान गरिएका छन् । दैनिक ८ घन्टा उद्योग नियमित चलाउने प्रथम वर्षको लक्ष्य उद्योग व्यवस्थापनको छ । उद्योगले प्रतिमिनेट ४ सय ५० पिस, र प्रतिघन्टा २७ हजार पिसका दरले दैनिक ८ घन्टा उद्योग चल्दा २ लाख १६ हजार पिस बिभिन्न आकारका बेबि डाइपर उत्पादन हुने उद्योगका प्रबन्ध निर्देशक डोलप्रसाद अधिकारीले बताए ।
आफूहरूको उद्योगबाट उत्पादित डायपर भारतीय तथा अन्य मल्टिनेसनल कम्पनीका उद्योगबाट उत्पादित डायपरभन्दा बढी गुणस्तरीय रहेको उद्योगको अध्यक्षको दाबी छ ।
अहिले भारतमा सबैभन्दा बढी चलेका मिनी पोकोपेन्ट र हगिजका उत्पादनभन्दा हाम्रो उत्पादन राम्रो रहेको ठहर हाम्रो छ । मूल्यमा पनि हगिजको भन्दा १५ प्रतिशत र मिनी पोकोपेन्टभन्दा ५ देखि १० प्रतिशतसम्म सस्तो छ ।
डायपर उत्पादनमा प्रयोग हुने सबै कच्चा पदार्थहरू पोलिथिन, पोलिमर, पल्पपेपर, एडहेसिम, पोलिइरेथ्रेन, प्रपिलाइनजस्ता कच्चा पदार्थहरू अमेरिका, क्यानाडा र थाइल्याण्डबाट आयात गरेका छौं, कच्चा पदार्थनै उच्च कोटीका छन्, त्यसैले विदेशी उत्पादनभन्दा हाम्रा उत्पादन अगाडि छ भनेर हामी भन्छौं, अध्यक्ष अधिकारीले भने, हामीले डायपर बनाउँदा प्रयोग गरेका धागोहरूले सोस्ने क्षमता, त्यसमा प्रयोग भएका म्याटेरियलहरू उच्च गुणस्तरका भएकाले गुणस्तरीय भनिएको हो ।
अहिलेनै दैनिक उद्योग सञ्चालन क्षमतको ८ घन्टामध्ये ४ घन्टाको उत्पादन भारतीय पार्टीले माग गरिसकेको उनीहरूको दाबी छ । भारतीय पार्टीहरूले माग गरिसकेका छन्, तर हामी नेपालमा पहिला आफ्ना उत्पादनलाई सबै क्षेत्रमा पु¥याउँछौं, पहिलो वर्षको लक्ष्य भनेको ४० प्रतिशत आयात प्रतिस्थापन हो । दोस्रो फेजमा (दोस्रो वर्ष)मा हामीले पुनः यही प्रकृतिको मेसिन जडान गरी उत्पादनलाई दोब्बर बनाउने लक्ष्यअनुसार अर्को मेसिनका लागि अर्डर पनि गरिसकेका छौं, उनले भने । हामीले ३ वर्षअघि भन्सार विभागमा तथ्यांक लिँदा वार्षिक ३ अर्बभन्दा बढीको डायपर नेपालमा आयात भएको पाइएको थियो । ३ वर्षको अबधिमा २५ प्रतिशत बढे पनि वार्षिक करिब पौने ४ अर्बको आयात भइरहेको हाम्रो अनुमान छ, अधिकारीले भने ।
उद्योगले अहिले बिभिन्न तौलका बच्चाहरूका लागि डायपर उत्पादन गरिरहेको छ । जसमा ५ केजिसम्मका लागि एक्सट्रा स्मल, ४ देखि ८ केजिसम्मका लागि स्मल, ७ देखि १२ सम्म मिडियम, ९ देखि १४ सम्म लार्ज र १२ देखि १७ केजि तौल समूहका लागि एक्सट्रा लार्ज साइजका डाएपर उत्पादन गरेको छ । डायपरहरू ४ पिसदेखि ६० पिससम्मका प्याकेटहरूमा बनाइएको छ ।
यसका बजार मूल्यहरू प्रतिपिस न्यूनतममा २० देखि २५ रुपैयाँसम्म तोकिएको छ ।
यही उद्योगबाट ६ महिनाभित्र महिलाहरूले प्रयोग गर्ने प्याड(रजस्वला हुदा प्रयोग गरिने प्याड)को उत्पादनसमेत गर्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । त्यसका लागि इटालियन प्रविधिको मेसिन ल्याइने र लागत थप २० करोडको हाराहारीमा लाग्ने उद्योगका अध्यक्ष तिलकप्रसाद अधिकारीले बताए ।
उद्योगले प्रत्यक्ष रूपमा १ सय ७५ जनालाई रोजगारी दिएको छ ।
कैलालीमा खाद्यान्नका बिभिन्न उद्योग सञ्चालन गरेका ३ भाइहरू तिलकप्रसाद, डोलप्रसाद र गंगाधर अधिकारीले पछिल्लो समय रुपन्देही उद्योग व्यवसायका लागि नेपालकै हब बन्दै गएको, देशको बीचभागमा रहेको र सिमा नाकाबाट नजिक रहेकाले भारत हुदै कच्चा पदार्थ ल्याउनसमेत सजिलो पर्ने भएकाले रुपन्देही क्षेत्रमा उद्योग स्थापना गर्ने निर्णय गरेको बताए ।

मनोरञ्जन शर्मा

प्रतिक्रिया दिनुहोस्