Logo

सीपीसीका विदेश विभाग प्रमुख लिउ भेटघाटमा व्यस्त

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओे भेटवार्ता गर्दै । तस्वीर : रोशन सापकोटा, रासस

आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार बिहान काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले उनको स्वागत गरेका थिए ।
विदेश विभाग प्रमुखको रुपमा नियुक्त भएपछि लिउको यो पहिलो नेपाल भ्रमण हो । चार दिने नेपाल भ्रमणमा आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेतासँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विदेश विभाग प्रमुख लिउ होटल द्वारिकामा रहनेछन् । गत चैतमा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि छिमेकी चीनका तर्फबाट भएको यो उच्चस्तरको अर्को भ्रमण हो । नेपाल र चीनबीच लामो समयदेखि रहेको मैत्री सम्बन्ध विस्तारका लागि लिउको भ्रमणलाई महत्वका साथ हेरिएको छ । विदेश विभागमा नियुक्त भएपछि उनले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्र, प्रमुख विपक्षी दल नेकपा(एमाले)का शीर्ष नेतृत्वसँग श्रव्यदृश्यका माध्यमबाट संवाद गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ आइतबार नेपालको चार दिने भम्रणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलमा आइपुग्नु हुँदै । तस्बिर :रत्न ७नतसेष्ठ/रासस

भेटघाटमा व्यस्त
काठमाडौं ओर्लिएलगत्तै लिउले उच्चस्तरीय भेटघाट सुरु गरेका छन् । आइतबार उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा उनीहरूबीच दुई पक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी लिउले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेलगत्तै आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जाने तयारी भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखको नेपाल भ्रमणलाई रुचिपूर्वक हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्