Logo

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट जडान

सल्यान जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट जडान गरिएको छ । ४० लिटर क्षमताका सिलिन्डर दैनिक ४० देखि ४८ थान भर्न सकिने क्षमताको फिलिङ सिस्टमसहितको प्लान्ट जडान गरिएको हो ।
बिहीबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख जसवीर ओलीले जिल्लाकै पहिलो अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् ।
संघीय सरकारको ७१ लाख बजेटबाट प्लान्ट जडान गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए । ७५ लाख बजेट भएता पनि मुद्रक इन्टरनेसनल प्रालिले टेन्डरमार्फत ७१ लाखमा काम सम्पन्न गरेको उनको भनाइ छ । जडान गरिएको प्लान्टबाट अस्पतालमा मात्रै नभई जिल्लाभरि नै अक्सिजन अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष सिपि ओलीले बताए । अन्य स्थानमा समेत मागअनुसार उपलब्ध गराइने उनको भनाइ छ ।
अब जिल्लामा अक्सिजन नपाएर कसैले पनि ज्यान गुमाउनु नपर्ने अस्पतालले बताएको छ । अस्पतालमा रोल्पा र रुकुमका धेरै बिरामी उपचारका लागि आउने गर्छन । अस्पतालमा दैनिक १ सय ५० देखि २ सयको हाराहारीमा उपचारका लागि बिरामी आउने गरेको डाक्टर अभिषेक सिंहको भनाइ छ । अस्पतालमा हाल ६ जना डाक्टर छन् । अस्पतालमा सव बहान र एम्बुलेन्स साउन महिनासम्म आइपुग्ने स्वास्थ्य सेवा कार्यालय सल्यानले बताएको छ ।
सल्यान जिल्लामा अक्सिजन प्लान्ट नहँुदा कोरोना कहरको समयमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाएका थिए । यसअघि जिल्लामा अक्सिजन प्लान्ट व्यवस्था नहुँदा खाली सिलिन्डर भर्नका लागि दाङ, नेपालगन्ज र सुर्खेत जानुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस्