Logo

दूधकोसी जलाशययुक्त पावरहाउस पुग्ने सडक निर्माण गर्न समझदारी

बहुप्रतीक्षित ६६५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माणका लागि समझदारी भएको छ । खोटाङको रावाबेंसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६, भदौरेको सिमानामा पर्ने जलविद्युत आयोजनाको हलेसी तुवाचुङ नगरपालिका–८, धितुङमा रहने पावरहाउस पुग्ने सडक निर्माणका लागि समझदारी कायम गरिएको हो ।
नेपाल विद्युत प्राधिकरण, दूधकोसी जलाशययुक्त आयोजना र हलेसी तुवाचुङ नगरपालिकाबीच धितुङको रातेखोलादेखि बैखुखोलासम्मको साढे तीन किलोमिटर कन्स्ट्रक्सन एक्सेस रोडको ट्रयाक खोल्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । एक करोड बराबरको बजेटमा उपभोक्ता समितिमार्फत जलविद्युत आयोजनाको पावरहाउसस्थल पुग्ने सडक निर्माण गरिने र उपभोक्ता समितिले १० प्रतिशत लगानी गर्ने समझदारी भएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले बताइन् । निर्माणस्थलसम्म पुग्न र फर्कनका लागि करिब नौ महिनामा एक्सेस रोड बनाउने समझदारी पत्रमा उल्लेख छ ।
लामीडाँडाको रँभुवाबजारमा दुई सय मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३.३ किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ नेपाल सरकारले आयोजनाको काम अघि बढाएको हो । हाल यस जलविद्युत आयोजनाले ओगट्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ । आयोजना निर्माणका क्रममा खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको नौ हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको हो ।
यो आयोजना निर्माणलाई सरकारले आगामी आर्थिक वर्षमा प्राथमिकतामा राखेको छ । त्यसका लागि सरकारले आगामी आवमा ९४ करोड बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्