महिला उद्यमशिलता विकासका लागि चेम्बरको अभिमुखीकरण

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरू गरेको छ ।
उद्यमशिलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो । चेम्बरले पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा विधामा महिलालाई तालिम दिने छ ।
तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए ।
चेम्बरले महिलाको सशक्तिकरणको मुद्धालाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरू सुरू भइसकेको भन्दै अध्यक्ष मल्ललले त्यसको लाभ लिन पनि महिलाहरूलाई आग्रह गरे ।
महिलाहरूद्वारा उत्पादित वस्तुहरूको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उनको भनाइ छ ।
“महिला दिदीबहिनीले उत्पादन गरेका वस्तुहरू उत्पादनस्थलदेखि बजारीकरणसम्ममा नेपाल चेम्बर अफ कमर्सले सघाउँछ” उनले भने, “कृषिजन्य वस्तुको प्रसोधनका लागि पनि तालिम आवश्यक छ । यसका लागि हामी सहयोग गर्न तयार छौं ।”
चेम्बरकी उपाध्यक्ष तथा महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरूको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरेको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने उनको भनाइ छ ।
कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलालाई कम्तिमा १५ दिनको तालिम दिइने जानकारी दिइन् । चेम्बरले महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न सीपमुलक कार्यक्रमलाई निरन्तरता दिँदै जाने उनको भनाइ छ ।