टाटु डिजिटलाइज गर्ने इक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियन «

टाटु डिजिटलाइज गर्ने इक्सभिला स्टार्टअप वल्र्डकपको नेपाल च्याम्पियन

स्टार्टअप वल्र्डकपको नेपाल चेम्पियनमा टाटु डिजिटलाइज गर्ने स्टार्टअप इक्सभिला छनौट भएको छ ।
स्टार्टअप वल्र्डकप नेपाल रिजनल कम्पिटिसनको फाइनलमा रहेका १५ कम्पनीलाई पछि पार्दै टाटुको डिजिटलाइजेसन गर्ने स्टार्टअप इक्सभिला नेपालको च्याम्पियन बनेको हो ।
स्टार्टअप वल्र्डकपको रिजनल पार्टनर स्टार्टअप हब नेपालले फाइनल व्याटल आयोजना गरेको हो । स्टार्टअप वल्र्डकपको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका सम्पूर्ण संयन्त्र नै नयाँ सोच र धारणाका साथ आएमा नेपालले स्टार्टअप मुभमेन्टमा फट्को मार्ने बताए ।
विश्वका ७० भन्दा बढी देशमा हुने स्टार्टअपको विश्वकप नेपालमा गत वर्षदेखि मात्रै हुन थालेको हो । वल्र्ड ट्रेड ग्रुप नेपालको भगिनी संस्था स्टार्टअप हब नेपालले जनाए अनुसार अब गत वर्षको विजेता ट्याक्सिमाण्डु र यस वर्षको विजेता इक्सभिला सेप्टेम्बरमा सिलिकन भ्यालीमा हुने विश्व प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
दुवै च्याम्पियन स्टार्टअपलाई आयोजकले नै अमेरिकामा प्रतिष्पर्धामा लैजाने स्टार्टअप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले बताए । देशभरबाट स्टार्टअप विश्वकपका लागि प्रतिस्पर्धामा सहभागी हजारौं स्टार्ट अपहरुबाट उत्कृष्ट १५ स्टार्टअप आयोजकले छानेका थिए ।
बुधबार छानिएका १५ स्टार्टअपबीच प्रतिष्पर्धा भएको हो । छानिएका उत्कृष्ट स्टार्टअपमा गेम सम्बन्धी एपः डार्क म्याटर्स, शिक्षा प्रविधि सम्बन्धी स्टार्टअपः वेद, इन्टर्याक्टिभ लर्निङ चिम्पभाइन, मेन्टल हेल्थ स्टार्टअप ह्यापी माइन्डसलगायतका रहेका थिए ।
नेपालको फिनालेमा उत्कृष्ट ५ स्टार्टप पनि छानिएका छन् । उत्कृष्ट ५ स्टार्टअपहरुमा च्याम्पियन इन्सभिल्लासँगै दोश्रोमा वेद, तेश्रोमा स्किल सेवा, चौथोमा ह्यापी माइन्डस र पाँचौंमा डिजिटल एज नेपाल पर्न सफल भएका छन् । उत्कृष्ट भएका ती ५ स्टार्टअपलाई एमेजनको एडल्युएसले १ हजार डलर बराबरको क्लाउड पुरस्कार दिने घोषणा गरेको छ । त्यसैगरि उत्कृष्ट ३ स्टार्टअपलाई स्टार्टअपहब नेपालले प्रति कम्पनी १० लाख रुपैयाँको लगानी पुरस्कार दिने घोषणा गरेको छ ।
विश्वका विकसित र धनी देशहरुमा मात्र हुनेगरेको स्टार्टअप नेपालमा भित्रिएसँगै नेपालको कुनै कुनामा रहेको नयाँ सोचले समेत विश्वको इनोभेसन हेडक्वाटर भनेर चिनिले सिलिकन भ्यालिमा गएर प्रतिष्पर्धा गर्ने बाटो देख्ने अवस्था सिर्जना भएको स्टार्टअप हब नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्