तीन दशकमा ७४६ ठूला उत्पादनशील उद्योग बढे «

तीन दशकमा ७४६ ठूला उत्पादनशील उद्योग बढे

विगत तीन दशकमा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानको संख्या ७४६ वटामात्र बढेको छ । हुन त बीचका वर्षहरूमा घटेर फेरि बढेको हुनाले सकारात्मक नै मान्न सकिन्छ तर, २०४९ सालमा ४ हजार २७१ ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठान रहेकोमा २०७६ सालमा ५ हजार १७ पुगेको छ । तर, २०५९ मा ३ हजार २१३ मा झरेर फेरि बढेको हुनाले संख्या बढेकै मान सकिन्छ ।
शुक्रबार केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को नतिजाअनुसार ठूला उद्योगको संख्यासँगै यस्ता उद्योगबाट मूल्य अभिवृद्धि तथा उद्योगमा संलग्न व्यक्तिहरूको संख्या एवं रोजगारीमा पनि केही वृद्धि भएको पाइएको छ । उत्पादनशील ठूला उद्योगबाट सवा २ खर्ब रुपैयाँभन्न्दा बढी मूल्य अभिवृद्धि भएको छ ।
विभागले १० वा सोभन्दा बढी व्यक्तिहरू संलग्न भएका उत्पादनमूलक औद्योगिक प्रतिष्ठानहरूलाई ठूला उद्योगका रुपमा गणना गर्ने गरेको छ । साथै, उत्पादनमूलक उद्योगहरूले १ सय रुपैयाँ कमाउनका लागि ७३ रुपैयाँ खर्चिनुपर्ने अवस्था रहेको पनि तथ्यांकले देखाएको छ । राष्ट्रिय औद्योगिक गणना २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूको लागत÷उत्पादन अनुपात ०.७५ रहेकोमा हालको सर्वेक्षण अनुसार सो अनुपात केही घटेर ०.७३ रहेको देखिएको छ ।
विभागका निर्देशक विनोदशरण आचार्य ठूला उद्योगको वृद्धि तथा यसमा कार्यरत कर्मचारी मजदुरको संख्यामा आएको बढोत्तरीलाई सकारात्मक रुपमा लिन सकिने बताउँछन् । “ठूला औद्योगिक प्रतिष्ठानहरूको संख्या करिब २३ प्रतिशतले बढेको र प्रतिप्रतिष्ठान संलग्न रहेका व्यक्तिहरूको संख्या समेत बढेकाले संलग्न व्यक्तिहरूको संख्या उल्लेख्य रुपमा बढेको मान्न सकिन्छ,” उनी भन्छन् । निजी क्षेत्रले पनि राज्यको कम प्राथमिकता रहेको उत्पादनशील क्षेत्रको आवश्यकता र औचित्य यो तथ्यांकले थप पुष्टि गरेको बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति भरत आचार्य भन्छन्, “उत्पादनशील क्षेत्रको जति सम्भावना छ, त्यसअनुसार वृद्धि भएको छैन तर केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्भेक्षण २०७६ को नतिजा हेर्दा हामी निराश भइहाल्नु पर्ने अवस्था भने देखिँदैन । अहिले धेरै उद्योगहरू अटोमेसनमा पनि गएका छन् भने विद्युत खपत पनि बढेको छ । यसको परिणाम मूल्य अभिवृद्धिमै देखिएको छ ।”
सभापति आचार्य स्वदेशी उद्योगलाई नीतिगत संरक्षण र भएका नीतिको दृढतापूर्वक कार्यान्वयन हुन सके अर्को सर्भेक्षणसम्ममा यसले दोब्बर प्रगति हासिल गर्न सक्ने बताउँछन् । मूल्य अभिवृद्धिको आधारमा औद्योगिक क्षेत्रको करिब दुई तिहाई हिस्सा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूको रहेको उनको भनाइ छ । उनका अनुसार यस्ता उद्योगको मूल्य अभिवृद्धि पनि उत्तिकै उत्साहजनक रहेको छ । सर्वेक्षणवाट ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब २ खर्ब ३५ अर्ब ३३ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिन्छ । औद्योगिक प्रतिष्ठानहरूले करिब ६ खर्ब २५ अर्ब ७२ करोड बराबरको रकम लागतको रुपमा खर्च गरी करिब ८ खर्ब ६१ अर्ब ५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेको तथ्यांक छ । यसअघि राष्ट्रिय औद्योगिक गणना २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूले करिब २ खर्ब ४१ अर्ब ७७ करोड मूल्य बराबरको रकम लागतको रुपमा खर्च गरेर करिब ३ खर्ब २२ अर्ब ५५ करोड मूल्य बराबरको औद्योगिक वस्तु उत्पादन गरेका थिए । जसअनुसार त्यसबेला यस्ता उद्योगले ८० अर्ब ७८ करोड बराबरको मूल्य अभिवृद्धि गरेका थिए ।
राष्ट्रिय औद्योगिक गणना, २०६९ मा ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरूको लागत÷उत्पादन अनुपात ०.७५ रहेकोमा हालको सर्वेक्षण अनुसार सो अनुपात केही घटेर ०.७३ रहेको देखिएको छ । लागत मूल्य उत्पादन मूल्य र मूल्य अभिवृद्धि सन्दर्भ वर्षमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूले करिब ८ खर्ब ४६ अर्ब ६६ करोड मूल्य बराबरको रकम लागतको रूपमा खर्च गरी करिब १२ खर्ब १ अर्ब १७ करोड मूल्य बराबरको वस्तु तथा सेवा उत्पादन गरेको देखिएको छ । यस हिसाबले यी चारवटै क्षेत्रका औद्योगिक प्रतिष्ठानहरूले नेपालको अर्थतन्त्रमा करिब ३ खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूल्य अभिवृद्धि गरेको देखिएको विभागले बताएको छ । स्थायी सम्पत्ति सन्दर्भ अवधिको अन्त्यसम्ममा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरूमा करिब ६ खर्ब १९ अर्ब ५१ करोड मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्