Logo

राष्ट्रिय औद्योगिक सर्वेक्षण ०७६

उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थ प्रमुख समस्या

केन्द्रीय तथ्यांक विभागले उत्पादनमा प्रतिस्पर्धा र कच्चा पदार्थको असहज उपलब्धतालाई उद्योगका प्रमुख समस्याको रुपमा औंल्याएको छ । ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण–०७६’ को नतिजाले उक्त तथ्य औंल्याएको हो ।
यसअघि २०६९ सालमा भएको सर्वेक्षणमा उद्योगीहरुले श्रम सम्बन्ध र ऊर्जा संकटलाई प्रमुख समस्याको रुपमा लिएका थिए । हाल औद्योगिक क्षेत्रमा श्रम र ऊर्जाको समस्या नरहेको तर उत्पादनमा प्रतिस्पर्धा हुनु र कच्चा पदार्थको असहजता समस्या रहेको देखिएको अध्ययनले जनाएको छ ।
यसैगरी, औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत तलबी कामदरको लागि तलब÷ज्याला र सुविधामा गरेको खर्च १ खर्ब ७ अर्बभन्दा बढी रहेको अध्ययनले देखाएको छ । सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानहरुमा कार्यरत तलबी कामदरहरुको लागि तलब÷ज्याला र सुविधामा गरेको खर्च १ खर्ब ७ अर्ब ८९ करोड रहेको छ । त्यसमध्ये खानी तथा उत्खनन् क्षेत्रमा करिब १ अर्ब ८० करोड, औद्योगिक उत्पादन क्षेत्रमा करिब ९५ अर्ब ७७ करोड, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा करिब ६ अर्ब ९२ करोड, पानीको आपूर्ति ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा करिब ३ अर्ब ४० करोड कामदारको तलब ज्याला तथा सुविधामा खर्च भएको देखिएको छ ।
औद्योगिक प्र्रतिष्ठानमा तलब÷ज्याला तथा सुविधा भन्नाले सन्दर्भ अवधिमा तलबीमा कामदारहरुको लागि औद्योगिक प्रतिष्ठानहरुले खर्च गरेको कुल रकम (नगद, जिन्सी र अन्य सुविधा समेत) रहेको विभागले प्रष्ट पारेको छ । विभागले ०७५ साउन १ देखि ०७६ असार अर्थात् आर्थिक वर्ष २०७५÷०७६ को सर्वेक्षणमा आधारित रहेर प्रतिवेदन सार्वजनिक गरेको हो ।
सर्वेक्षणको नतिजाअनुसार ६० हजार १ सय ८५ उद्योग प्रतिष्ठान देशभर सञ्चालनमा रहेका छन् । तीमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६ सय ११ वटा, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९ सय ९४ वटा र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु रहेका छन् ।
सर्वेक्षणको नतिजा अनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा संलग्न रहेका व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ छ । तीमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ६ हजार ४ सय ८५ जना औद्योगिक उत्पादन क्षेत्रमा संलग्न व्यक्तिको संख्या ४ लाख ४४ हजार ९ सय ६४ छ । विद्युत, ग्यास, बाफÞ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५ सय ९३ जना र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा १८ हजार १ सय ८५ जना व्यक्ति संलग्न भएको अध्ययनले देखाएको छ ।
सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरुमा रहेका तलबी कामदारको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ । तीमध्ये खानी तथा उत्खनन् क्षेत्रमा ५ हजार ७ सय १९ जना, औद्योगिक उत्पादनशिल क्षेत्रमा ३ लाख ४६ हजार १ सय ४३ जना, विद्युत, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा १७ हजार २ सय ३८ जना र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापको क्षेत्रमा १२ हजार ५ सय ८७ जना छन् ।
ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुको संख्या २०६९ मा ४ हजार ७६ रहेकोमा उक्त संख्या करिब २३ प्रतिशतले बढेर ५ हजार १७ पुगेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानहरुमा संलग्न व्यक्तिहरुको संख्या राष्ट्रिय औद्योगिक गणना ०६९ अनुसार २ लाख ४ हजार ३ सय ६० जना रहेकोमा हालको सर्वेक्षणमा सो संख्या करिब ४१ प्रतिशतले बढेर २ लाख ८८ हजार १ सय ७० पुगेको छ ।
विभागका अनुसार ठूला औद्योगिक प्रतिष्ठानहरुमा संलग्न प्रतिप्रतिष्ठान औसत व्यक्तिको संख्या ०६९ सालमा ५० जना रहेकोमा अहिले सो संख्या बढेर ५७ जना पुगेको छ । ठूला उत्पादनशील औद्योगिक प्रतिष्ठानमा कार्यरत तलबी कामदारको संख्या राष्ट्रिय औद्योगिक गणना ०६९ मा १ लाख ९४ हजार ९ सय ८९ जना रहेकोमा यस सर्वेक्षणमा करिब ४१ प्रतिशतले बढी सो संख्या २ लाख ७४ हजार ३ सेय २४ रहेको देखिएको छ ।
उत्पादन कार्यसञ्चालन दिन सन्दर्भ अवधिमा औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये करिब ७६ प्रतिशत उद्योग प्रतिष्ठान २७० दिन वा सोभन्दा बढी दिन सञ्चालन भएको देखिएको छ । यसैगरी १९४ उद्योग प्रतिष्ठान १८०–२६९ दिन, ४४ उद्योग प्रतिष्ठान ९०–१७९ र बाँकी १ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन सञ्चालन भएको देखिएको छ । उत्पादन क्षमताको उपयोग सन्दर्भ औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ प्रतिशत उद्योग प्रतिष्ठानले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको देखिन्छ । यसैगरी १८.७४ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको ७५.९९ प्रतिशत, २९.१४ प्रतिशत उद्योग प्रतिष्ठानले उत्पादन क्षमताको ५०.७४ प्रतिशत, १०.३४ प्रतिशत उद्योग प्रतिष्ठानहरुले उत्पादन क्षमताको २५–४९ प्रतिशत र बाँकीले २५ प्रतिशत भन्दा कम उपयोग गरेको देखिन्छ । यसरी पूर्ण क्षमतामा नचल्नुको कारण बजार वा मागको कमीका कारण ४६ प्रतिशत, कच्चा पदार्थको अपर्याप्तताका कारण १० प्रतिशत, स्रोतको कमीका कारण ८ प्रतिशत र सीपमूलक कामदारको अभावका कारण ८ प्रतिशत रहेका छन् ।
विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणमा साना उत्पादनमूलक उद्योग प्रतिष्ठान (१० जनाभन्दा कम काम गर्ने)मा ३४ प्रतिशतले मात्र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको देखिएको छ । जसमा १ प्रतिशतले बैंकबाट ऋणको प्रतिबद्धता पाएको तथा ५ प्रतिशत प्रक्रियामा रहेको उल्लेख गरिएको छ । ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले बैंकको ऋण नलिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्