जलवायु परिवर्तन न्यूनीकरणका उपाय «

जलवायु परिवर्तन न्यूनीकरणका उपाय

आज जलवायु परिवर्तन विश्वव्यापी चुनौती एवं समस्याको रूपमा विद्यमान छ । वातावरण विनाश हुनाले यस्तो भएको हो । वस्तुतः जलवायु परिवर्तनले यस धरतीमा रहेका विभिन्न तŒवहरूलाई असर पारिरहेको छ, जसले गर्दा यहाँका वनस्पति तथा सम्पूर्ण जीवित प्राणीहरूको अस्तित्वमा शङ्का उब्जेको छ । त्यसैले जलवायु परिवर्तन न्यूनीकरण आजको आवश्यकता हो, जसका लागि सर्वप्रथम त स्थानीय निकायहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ । त्यसपछि जलवायु परिवर्तनसम्बन्धी कार्य उक्त निकायहरूको रेखदेखमा सञ्चालन गर्नुपर्छ । योबाहेक जलवायु परिवर्तनका कारण खाद्यान्न, पर्यावरणीय प्रणाली र स्वास्थ्यमा पर्ने सम्भावित खतराहरूबाट वन प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नुपर्छ ।
एकातर्फ जलवायु परिवर्तनको सम्बन्धमा लक्षित समूहहरूका लागि सही तथ्याङ्क तथा सूचना प्रवाह गर्न आवश्यक छ भने अर्कातर्फ सञ्चारमाध्यमहरूको क्षमता अभिवृद्धि गर्ने उत्तिकै जरुरी छ । यसका निम्ति स्थानीय निकायहरूले विषय विज्ञताको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरू, नागरिक समाजको सहभागितालाई प्रश्रय दिन उचित देखिन्छ ।
वास्तवमा जलवायु परिवर्तन न्यूनीकरण गर्ने काम सहज छैन । यसका लागि दक्ष जनशक्तिको उत्पादन एवं परिचालन गर्न आवश्यक छ, जसका लागि आर्थिक स्रोत वृद्धि गर्न जरुरी छ । यसका साथै एकातर्फ जलवायु परिवर्तनलाई औपचारिक तथा अनौपचारिक शिक्षालगायत दूर शिक्षा एवं खुला सिकाइ कार्यक्रममा समावेश गर्नुपरेको छ भने अर्कातर्फ जलवायु अनुकूलन तथा न्यूनीकरणसम्बन्धी परम्परागत ज्ञान, सीप र प्रविधिसम्बन्धी सामग्रीहरू सङ्कलन, प्रचार–प्रसार, उपयोग गर्ने कार्य गर्ने र गराउनुपरेको छ ।
जलवायु परिवर्तन र यसबाट परेको प्रभावबाट अध्ययन–अनुसन्धान गरी प्रतिकूल प्रभाव घटाउने वा निर्मूल गर्ने उपायहरूको कार्यान्वयन गर्न क्षेत्रगत तथा विषयगत ज्ञान उपार्जन गर्न एवं अनुसन्धानबाट प्राप्त तथ्याङ्क सञ्चित गर्दै जलवायुलगायत अन्य प्रारूपहरू तयार पारी अध्ययन–अनुसन्धानमा प्रयोग गर्न नितान्त आवश्यक छ । साथै, जलवायु न्यूनीकरणसम्बन्धी उल्लेखनीय काम गर्ने संस्था तथा व्यक्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाउन चुक्न हुँदैन । केही वर्षयता जलवायु परिवर्तन न्यूनीकरण सबै देशमा एक गम्भीर समस्या भएको छ । यस सम्बन्धमा नेपाल अछुतो रहन सकेको छैन ।
यहाँ जलवायु परिवर्तनले पारेको वा पार्ने भौगोलिक तथा विषयगत जोखिम क्षेत्रहरूको पहिचान एवं प्रभावको अध्ययन गरी प्रभाव न्यूनीकरण गर्ने, उपयुक्त उपायहरूको खोजी गर्ने, जलवायु परिवर्तनको प्रक्रिया तथा प्रभावहरूको पहिचानपश्चात् यहाँको सम्पूर्ण भूभागको प्रतिनिधित्व हुने गरी जलवायु न्यूनीकरण केन्द्रको सञ्जाल विस्तार मात्र नगरी तथ्याङ्क प्राप्त गर्ने प्रणालीको विस्तार गरी प्राप्त तथ्याङ्कको विश्लेषण गरी व्यवहारमा उतार्नुपर्ने देखिन्छ ।
प्रविधिले जलवायु परिवर्तन न्यूनीकरणका लागि महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले जलवायु परिवर्तनको प्रतिकूल प्रभाव कम गर्न उपयुक्त प्रविधिको विकास गर्न जरुरी छ ।
जलवायु परिवर्तनमा हरित ग्यासले महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले उक्त ग्यासको उत्सर्जन कम गर्न एकातिर स्वच्छ तथा हरित ऊर्जा दक्षता प्रविधिको विकास गरी प्रयोग गर्न आवश्यक छ भने अर्कातिर मिथेन ग्यास कम उत्सर्जन गर्ने कृषि प्रविधिको विकास गरी कार्यान्वयन गर्न जरुरी देखिन्छ ।
वनजङ्गलले जलवायु परिवर्तन न्यूनीकरणका निम्ति महŒवपूर्ण भूमिका खेल्ने हुनाले यसको प्रवद्र्धन तथा संवद्र्धनका लागि विशेष ध्यान दिनु आजको आवश्यकता हो । योबाहेक जलवायु परिवर्तन न्यूनीकरणका लागि समयानुकूल विकास पूर्वाधार एवं संरचना निर्माणका लागि आवश्यक अनुसन्धानमार्फत उपयुक्त प्रविधिको विकास गरी सोको उपयोग गर्ने, जलवायुमैत्री प्राकृतिक स्रोत व्यवस्थापन र वैज्ञानिक भूउपयोग प्रणालीको विकास गरी लागू गर्ने उत्तिकै जरुरी छ ।
जलवायु परिवर्तन न्यूनीकरणका लागि एकातिर कृषि वन, चरन क्षेत्र र भूसंरक्षणसम्बन्धी कार्यक्रमहरू प्राथमिकताको साथ लागू गर्न आवश्यक छ भने अर्कातिर ऊर्जा स्रोतको रूपमा धूवाँरहित जलविद्युत् उत्पादनका लागि राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन गर्न जरुरी छ । यति मात्र होइन, माटो र पानी संरक्षणका लागि पानीका मुहान संरक्षण, वर्षाको पानी संकलन र पर्यावरणीय सरसफाइजस्ता काम गर्नुको अतिरिक्त कार्बन सञ्चितिकरण एवं डढेलो न्यूनीकरणलाई पनि विशेष जोड दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्