सातै प्रदेशका गृहमन्त्री जनकपुरमा «

सातै प्रदेशका गृहमन्त्री जनकपुरमा

सातवटै प्रदेशको गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेला जनकपुरमा सुरु भएको छ । संघीय सरकारले प्रहरी समायोजनामा आलटाल र प्रहरी भर्ना गर्ने अधिकार नदिएको भन्दै मधेस प्रदेशको अगुवाइमा बिहीबारबाट सातै प्रदेशका गृह तथा आन्तरिक मामिला मन्त्रीहरुको भेला सुरु भएको हो ।
शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भए पनि संघीय सरकारले त्यसलाई दिन आलटाल गरिरहेको भन्दै मधेस प्रदेश सरकारले संघीय सरकारमाथि दबाब दिने उद्देश्यले भेलाको आयोजना गरेको हो । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान तथा छलफल कार्यक्रम राखे पनि प्रहरी समायोजनको लागि दबाब दिने उद्देश्य लिएको छ ।
भेलालाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अधिकारको लागि सबै संगठित हुनुपर्ने बताए । उनले प्रदेशलाई अधिकार नदिने र संघीयतालाई कार्यान्वयन गर्न नदिने तत्वहरुले नै प्रहरी प्रदेशको हातमा अधिकार ल्याउन नदिने चलखेल गरेको अरोप लगाए । मुख्यमन्त्री राउतले संविधानको कार्यान्वयन गर्ने दायित्व सबैको भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने बेमाइनी भइरहेको आरोप लगाए । उनले प्रहरी प्रशासनको नाममा रजाइँ गर्नेहरु नै अहिले प्रहरी समायोजना नहोस् भन्नेतर्फ लागेको बताए । उनले प्रहरी समयोजनबिना संघीयताको कुनै अर्थ नरहेको जिकिर गरे । मुख्यमन्त्री राउतले अहिले वन ऐनको नाममा समेत प्रदेशको अधिकार मिच्न खोजिएको बताए । उनले मधेससहित शोषित पीडित जनता लडेर आफ्नो अधिकारको पहिचानको लागि संघीयता ल्याएको बताउँदै संघीयतालाई सफल कार्यान्वयन गराउने दायित्व सबैको रहेको बताए । भेलामा सात वटै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्री, मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला मन्त्रालयका सचिवलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्