नर्भिकमा दुई युरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने «

नर्भिकमा दुई युरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने

नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तरगत २५ असारमा विशेषज्ञसहितको युरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।
नर्भिकले शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि १०ः३० बजेसम्म अर्को टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको जनाएको छ ।
नर्भिकले विगत लामो समयदेखि युरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लो समय मुत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले पनि आफ्नो निःशुल्क ओपिडी यसमै केन्द्रीत गरिरहेको जनाएको छ ।
युरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त बिष्ट र डा. सुनिल श्रेष्ठ नेतृत्वको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी सबै खालका समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क ओपिडी तथा परामर्श सेवा सञ्चालन गर्ने नर्भिकले जनाएको छ ।
मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रिया समेत यो टिमले गर्नेछ । शल्यक्रिया शुल्कमा विशेष सहुलियतको अफरसमेत उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।
यसैगरी, ९ बजेदेखि १०ः३० बजेसम्म युरोलोजी विशेषज्ञद्वय प्रा.डा. रविन जोशी र डा. इशान मल्ल नेतृत्वको टिमले पनि निःशुल्क ओपिडी सेवा दिनेछ ।
मृगौला, मुत्रनली तथा मुत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो ओपिडीबाट लाभ लिन सक्नेछन् । निःशुल्क ओपीडी अभियानमा सहभागी भई शल्यक्रिया गर्नुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुटकोसमेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्