Logo

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

प्रतिनिधिसभाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरी करका दर हेरफेर गरेको विषयलाई लिएर ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छानबिनका लागि ११ सदस्यीय छानबिन समिति गठन गरेको बताएका हुन् । उनले २०७९ जेठ १५ गते आइतँर अर्थमन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष २०७९÷८० को आर्थिक विधेयक २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारका माध्यमहरुमा प्रकाशन भएको सांसदहरुले समेत यसको सम्बन्धमा सदनमा कुरा उठाएकाले सत्यतथ्य छानबिन गर्न समिति गठन गरेको बताए ।
उनले ११ सदस्यीय छानबिन समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्रप्रसाद यादव रहेका छन् । समितिको कार्यविधि प्रचलति कानुनको अधिनमा रही समिति आफैंले सभापतिको चैन एवं आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्ने व्यवस्था रहेको सभामुख सापकोटाले बताए । समितिको कार्यावधि, कार्य प्रारम्भ गरेको मितिले १० दिनसम्मको लागि हुनेपनि सभामुख सापकोटाले बताए । सभामुख सापकोटाले छानबिन समिति गठन सम्बन्धित प्रस्ताव संसदबाट पारित भएको घोषणा गरे ।
उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम निम्न लिखित विशेष समिति गठनको लागि प्रस्ताव प्रस्तुत गर्दछु । मिति २०७९ जेठ १५ गते आइतबार अर्थमन्त्रीद्वारा टेबुल भएको आर्थिक वर्ष २०७९÷०८० को आर्थिक विधेयक २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारका माध्यमहरु प्रकाशन भएको र सो विषयलाई लिएर मान्य सदस्यहरुबाट समेत सदनमा कुरा उठाइएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न एक संसदीय विशेष समिति गठन गर्न वाञ्छनीय हुने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम देहायको संसदीय छानबिन विशेष समिति गठन गरियोस् भनि समितिमा रहनुहुने मान्य सदस्यहरुको नामावलीसहित प्रश्ताव गर्दछु । विशेष समितिको गठनः यस समितिको नाम संसदीय छानबिन विशेष समिति राखिएको छ । समितिमा देहाय बमोजिमका मान्य सदस्यहरु रहनेछन् । माननीय खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्रप्रसाद यादव । समितिको कार्यक्षेत्रः आर्थिक वर्ष २०७९÷०८० को आर्थिक विधेयक २०७९ मा करका दरहरु हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सार्वजनिक सञ्चारमाध्यमहरुमा प्रकाशन भएको र सो विषयलाई लिएर मान्य सदस्यहरुबाटसमेत सदनमा कुरा उठाइएको सम्बन्धमा सत्यतथ्य छानबिन गरी सुझावसहितको प्रतिवेदन तयार गरी सभा समक्ष पेस गर्ने समितिको कार्यविधि प्रचलति कानुनको अधिनमा रही समिति आफैंले सभापतिको चैन एवं आफ्नो कार्यविधि व्यवस्थित गर्न सक्नेछ । समितिले आवश्यक देखेमा सम्बन्धित अन्य व्यक्तिको सहयोग लिन सक्नेछ । समितिको कार्यावधि, कार्य प्रारम्भ गरेको मितिले १० दिनसम्मको लागि हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्