मानव बेचबिखनमा संलग्न तीनजना पक्राउ «

मानव बेचबिखनमा संलग्न तीनजना पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले मानव बेचबिखनमा संलग्न ललितपुर चापागाउँका ४८ वर्षीय दौलत रोका, काठमाडौँ कोटेश्वरकी रेवती सुनार र रोल्पा घर भई टोखा बस्ने भरतमणि घर्तीमगरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लले एक महिलालाई कुवेतमा आकर्षक तलब हुने प्रलोभन देखाएर तीन जना मिलेर भारतको नयाँ दिल्ली हुँदै कुवेतमा बिक्री गरेकाले पक्राउ गरिएको जानकारी दिए । ‘पक्राउ परेका दौलतले पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर ललितपुरमा जबर्जस्ती करणीसमेत गरेको अनुसन्धानमा खुलेको छ,’ उनले भने ।
पक्राउ रेवतीले ती महिलालाई भारतमा डान्सको काम लगाइदिने प्रलोभन देखाएर वीरगञ्जबाट भारतको रक्सौल पु¥याएर डान्समा काम गर्न लगाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा माइती नेपालले नेपाल फिर्ता ल्याएको ब्यूरोले जनाएको छ ।
यसैगरी, भरतमणिले दुबईमा कम्पनीको प्याकिङसम्बन्धी काममा लगाइदिने भनी प्रलोभनमा पारेर काठमाडौँ विमानस्थलबाट दुबई भनी कुवेतको घर मालिकलाई पाँच हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रवक्ता मल्लले बताए । पक्राउ तीनैजनालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

न्युजिल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
न्युजिल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ६३ लाख २० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले न्युजिल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका–३ घुम्ती बस्ने नुवाकोट विदुर नगरपालिका–७ घर भएकी दिया भन्ने २७ वर्षीया शोभा पौडेललाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ शोभाले न्युजिल्याण्डको प्रतिष्ठित कृषि कम्पनीमा फ्रुट किपिङको काम लगाइदिन्छु भनी प्रतिव्यक्ति १२ लाख ५० हजार खर्च लाग्छ भनी नौ व्यक्तिसँग ६३ लाख २० हजार ठगी गरेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बूढानीलकण्ठ नगरपालिकास्थित कपनको नीलोपुलबाट पक्राउ गरेको हो ।
पक्राउ शोभालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।

बक्स
मिटरब्याजी आरोपित दिदीभाइ थुनामा
सप्तरी, २२ असार (रासस): धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।
मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौँबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगाएर फरार रहेका मिटरब्याजी रामदेव साह हालसम्म पक्राउ परेका छैनन् । रामदेवसहित अन्य छ जना फरारको खोजी भइरहेको छ । आरोपितविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरेर अनुसन्धान अगाडि बढाउन गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएपछि प्रहरी सक्रिय भई उजुरी दर्ता गरेको हो । पीडितले तीन महिनाअघि नै उजुरी दिए पनि बेवास्ता गर्दै आएको सप्तरी प्रहरीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनपछि कारोबारीलाई पक्राउ गरेर कारबाही अगाडि बढाएको हो ।
पीडितले ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहलगायतविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा तीन महिनाअघि उजुरी दिएका थिए ।
मिटरब्याजी रामदेवबाट १० लाख ऋण लिएकी शम्भुनाथ नगरपालिका–२ रामपुर–जमुवाकी महिलाले ब्याज मिनाहा पाउने आश्वासनमा यौन शोषणको सिकारसमेत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । पीडितका अनुसार रु १० लाख ऋणको साहुकार रामदेवले ३२ लाख असुलेर यौन शोषणसमेत गरेका छन् ।
पीडितका अनुसार ऋण चुक्ता गरेपछि फिर्ता गर्ने गरी आफ्नो नाममा रजिष्टरी गरेको १५ कट्ठा १५ धुर जग्गासमेत तेलीले फिर्ता गरेका छैनन् । पीडितका श्रीमान् रोजगारीका लागि १२ वर्षअघि मलेसिया गएका थिए ।

प्रतिक्रिया दिनुहोस्