न्यून बिजकीकरणका समस्या रोक «

न्यून बिजकीकरणका समस्या रोक

देशका उद्यमीहरूले विगत लामो समयदेखि नै न्यून बिजकीकरणका कारण स्वदेशी उद्योगहरू धराशायी भएको गुनासो गर्दै आएका छन् । उत्पादन वा बिक्री लागतभन्दा कममा खरिद भएको देखाइ कम भन्सार तिरेर आयात गरिनु नै न्यून बिजकीकरण हो । मूलतः कर छल्ने उद्देश्यले न्यून बिजकीकरण गरिन्छ । न्यून बिजकीकरणको आयात बढ्दा तीन पक्षमा सोझै प्रभाव पर्छ– पहिलो, सरकारको कर संकलन कम हुन्छ, दोस्रो उद्योगहरू प्रभावित हुन्छन् र तेस्रो, उपभोक्तामाथि बढी मूल्य लिई शोषण गर्ने अर्को प्रवृत्ति मौलाउँछ । केही अघि विशाल बजारमा गरिएको बजार अनुगमनका क्रममा जिन्सको पाइन्ट १ सय ५० रुपैयाँ प्रतिगोटामा आयात भए पनि ५ हजार रुपैयाँसम्म बेचिएको भन्दै वाणिज्य विभागले कालाबजारीमा कारबाहीसमेत गरेको थियो । यो वास्तवमा विद्यमान कालाबजारी नियन्त्रणसम्बन्धी ऐनअनुसार २० प्रतिशतभन्दा बढी नाफा लिएको भन्दा पनि न्यून बिजकीकरणका कारण देखिएको नाफा अन्तर थियो । यदि साँच्चिकै गहन ढंगले बजार अनुगमन गर्ने हो भने पत्याउनै नसकिने मूल्यमा आयात भएका वस्तुहरू एउटा–दुइटामात्रै होइन; त्यस्ता वस्तुबिनाको व्यापारिक थलो नै देखिन मुस्किल पर्छ । त्यसैले समान ब्रान्डका समान किसिमका वस्तुमा पनि पसलैपिच्छे फरक–फरक मूल्य हुन्छ । समान वस्तु नियमानुसार पूरै भन्सार, मूल्य अभिवृद्धि कर (भ्याट) र नियमानुसार लाग्नु पर्ने अन्य करहरू तिरेर आयात गरेका व्यवसायीहरू र न्यूनबिजकीकरण गरी आयात गर्ने व्यवसायीहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण प्रताडित र पलायनसमेत हुँदै गएका छन् ।

न्यून बिजकीकरण र भन्सार छलेर हुने चोरीपैठारीका कारण स्वच्छ व्यवसाय प्रभावित हुँदै आएको छ ।

न्यून बिजकीकरण र भन्सार छलेर हुने चोरीपैठारीका कारण स्वच्छ व्यवसाय प्रभावित हुँदै आएको छ । उच्चस्तरीय कर पुनरावलोकन आयोगले केही समयअघि गरेको एक अध्ययनअनुसार नेपाल–भारतबीचको कुल व्यापारमा झन्डै ४० प्रतिशत अनौपचारिक व्यापार अर्थात् चोरीपैठारीले ओगटेको छ । वार्षिक करिब ८ खर्बको व्यापारमा ४० प्रतिशत भनेको सानो अंश होइन, रकममा हेर्ने हो भने यो ३ खर्ब २५ अर्बभन्दा बढी हुन आउँछ । यसमा न्यून बिजकीकरण भएर हुने आयातको हिस्सा जोड्ने हो भने यो आँकडा अझ डरलाग्दो भएर आउँछ । चीनसँग हाल १ खर्ब ६० अर्ब रुपैयाँबराबरको आयात व्यापार छ । भारत र चीन दुवै देशबाट हुने आयातको ठूलो हिस्सा न्यून बिजकीकरणबाट हुने गरेको व्यवसायीहरू बताउँछन् ।
न्यून बिजकीकरणमा मात्रै नियन्त्रण गर्न सक्ने हो भने अहिलेको भन्दा दोब्बर कर राजस्व उठ्न सक्छ, किनकि यसले भन्सार राजस्वमात्रै बढाउँदैन; बजारमा यथार्थ मूल्यमा हुने कारोबारमा वृद्धि हुँदा भ्याट र आयकरको समेत असुली वृद्धि हुन्छ । मुलुकमा अनौपचारिक व्यापार हाबी हुँदा अहिले भ्याटमा दर्ता हुनेको संख्या बढेको देखिए पनि वास्तविक रूपमा उक्त कर तिर्ने करदाताको अनुपात कम छ, जबकी भ्याट भनेको अन्तिम उपभोक्ताबाट असुल गरिने कर हो, जुन आयातका समयमा नै वस्तुको मूल्यमा जोडिइसकेको हुन्छ । चोरीपैठारीबाट भएको आयात वा न्यून बिजकीकरण गरी भएको आयातमा वास्तविक भ्याट तिरिएकै हुँदैन, त्यसले व्यवसायीहरूले आफ्नो कारोबारको अंश नै कम भएको भन्दै शून्य कारोबारका आधारमा कर नतिरेका हुन् । न्यून बिजकीकरण नियन्त्रण गर्दा तत्कालका लागि उपभोक्ताले केही बढी मूल्य तिनुपरे पनि यसले स्वच्छ व्यवसायको प्रवद्र्धन र स्वदेशी उद्योगको संरक्षणका लागि योगदान दिने भएकाले सरकारले कडाइ अपनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्