Logo

चोभार सुक्खा बन्दरगाहबाट निर्यात शून्य, आयात बढ्दै

सरकारले निकै महत्व दिएर अघि बढाएको परियोजना काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको तीन महिना पुग्नै लाग्दा यसबाट एकतर्फी व्यापार भइरहेको पाइएको छ । चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार यसबाट हालसम्म सवा ७ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान आयात भए पनि निर्यात भने शून्य छ ।
चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको चोभारस्थित सुक्खा बन्दरगाह विधिवत् सञ्चालनमा आएको बुधबार तीन महिना पूरा भएको छ । यो अवधिमा सुक्खा बन्दरगाह भएर ७ करोढ ३९ लाख ९३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको छ । बन्दरगाह उद्घाटनकै दिन वीरगन्जबाट सामान लिएर आएका तीनवटा ट्रक कन्टेनरको भन्सार जाँचपास गरिएको थियो । सोही दिन ३ करोड २६ लाख ६ हजार रुपैयाँ बराबरको सामान चोभार सुक्खा बन्दरगाह हुँदै काठमाडौं भित्रिएकोमा त्यसयता चैत र वैशाखभर कुनै पनि ट्रक तथा कन्टेनरले यहाँबाट सामान जाँचपास गराएनन् ।
भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार जेठ महिनामा भने ४ करोड १३ लाख ८७ हजार रुपैयाँ बराबरको सामग्री यो बन्दरगाह हुँदै भित्रिएका छन् । विभागको तथ्यांकअनुसार जेठ मसान्तसम्म यो बन्दरगाहबाट ७ करोढ ३९ लाख ९३ हजार रुपैयाँ बराबरको सामग्री आयात भए पनि निर्यात भने शून्य रहेको छ । मुलुकका अधिकांश निर्यातकर्ता काठमाडौंमै भएको र धेरैजसो निर्यातजन्य वस्तु काठमाडौं तथा आसपासका जिल्लाहरुमा उत्पादन हुने भए पनि यो भन्सार रोजाइमा पर्न सकेको छैन । भन्सार एजेन्टहरुको अभाव तथा अन्य पूर्वाधारमा समस्याका कारण यो भन्सार रोजाइमा पर्न नसकेको व्यवसायीहरु बताउँछन् । आउने दिनमा यो भन्सारबाट निकासी हुने सम्भावना रहे पनि तत्काल भने वीरगन्ज, भैरहवा, विराटनगर, मेचीनगरजस्ता पुराना भन्सारको स्थान चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले लिन नसक्ने व्यवसायीहरुको भनाइ छ ।
चोभारस्थित सुक्खा बन्दरगाह काठमाडौं र तराई जोड्ने निर्माणाधीन द्रुतमार्ग परियोजना सम्पन्न भएपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनसक्ने सरकारी अधिकारीहरु बताउँछन् । बन्दरगाहमा ५ सयवटा मालवाहक गाडी, तीन धर्मकाटा सहित पूर्ण सुविधा रहेको छ । सरकारले व्यापार लागत न्यूनीकरण गर्न यसले सहयोग गर्ने अपेक्षा राखे पनि तत्कालको अवस्थाले भने यो भन्सार कार्यालयले सञ्चालन खर्चसमेत धान्न नसक्ने अवस्था छ । हिमाल सिमेन्टको कारखाना रहेको चोभारको जग्गामा निर्माण भएको सुक्खा बन्दरगाह लामो प्रयासपछि निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह बनाइएको हो । बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमति अनुसार सन् २०१९ भित्रै काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइ लगायतका कारणले केही ढिला भएको थियो ।
कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएर उद्घाटन भएपछि सो बन्दरगाह अब सञ्चालनमा आएको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोड्ने योजना सरकारको छ । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन रहेका छन् । काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुने सुविधा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्