हवाई भाडा बढ्यो

आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । अधिकतम २ सय २० देखि न्यूनतम ४५ रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।
समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौं–धनगढीमा २ सय २० र सबैभन्दा कम काठमाडौं–सिमरामा ४५ रुपैयाँ रहेको छ । काठमाडौं–माउन्टेन फ्लाइटको १ सय ७० रुपैयाँ, काठमाडौं–भद्रपुरको १ सय ५० रुपैयाँ, काठमाडौं–विराटनगरको १ सय २५ रुपैयाँ, काठमाडौं–जनकपुरको ६५ रुपैयाँ, काठमाडौं–भरतपुर ५५ रुपैयाँ भाडा वृद्धि भएको छ । त्यसैगरी काठमाडौं–पोखराको ८० रुपैयाँ, काठमाडौं–भैरहवाको १०० रुपैयाँ, काठमाडौं–नेपालगञ्जको १६५ रुपैयाँ, काठमाडौं–धनगढीको २२० रुपैयाँ, काठमाडौं–तुम्लिङटारको ९५ रुपैयाँ, काठमाडौं–सिमराको ४५ रुपैयाँ भाडा वृद्धि भएको छ । काठमाडौं–सुर्खेत १७०, काठमाडौं–राजविराज १०० रुपैयाँ वृद्धि भएको छ । स्वचालित प्रणाली अनुसार हवाई भाडा वृद्धि गरेको संघले जनाएको छ । हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि र कम हुनेबित्तिकै सरकारले स्वचालित मूल्य प्रणाली लागू गरेर भाडा समायोजन गर्ने गरेको छ ।
वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)का अनुसार अब काठमाडौंबाट सबैभन्दा लामो रुट धनगढीको भाडा अधिकतम १७ हजार २५ रुपैयाँ पुगेको छ ।
काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि १४ हजार ८९० तय भएको छ भने भद्रपुरका लागि १२ हजार ९५५ रुपैयाँ पुगेको छ । त्यसैगरी काठमाडौंबाट विराटनगर १० हजार २०५, भरतपुर ४ हजार ९९० र जनकपुरका लागि ५ हजार ८६० रुपैयाँ लाग्नेछ ।
पोखराका लागि ६ हजार ९८५, भैरहवाका लागि ८ हजार ६७५ रुपैयाँ अधिकतम भाडादर कायम गरिएको छ । त्यसैगरी काठमाडौंबाट नेपालगन्जका लागि १३ हजार ९८०, तुम्लिङटारका लागि ८ हजार २०५ र सिमराका लागि ४ हजार २४० रुपैयाँ भाडा तय भएको छ ।
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।