संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।
नागरिकता विधेयक ०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । प्रतिनिधिसभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ । राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए ।