Logo

धादिङमा सरकार–नागरिक संवाद

लैगिंक हिंसा, अपराध तथा लागू औषध नियन्त्रण, उपभोक्ता हकहित संरक्षण र शान्ति सुरक्षा समन्वय लगायतका विषयमा धादिङमा सरकार र नागरिक संवाद सम्पन्न भएको छ ।
खुला छलफलमा भाग लिँदै बार एसोसिएसन धादिङका अध्यक्ष कृष्णराज अधिकारीले डोजर ड्राइभर नै इन्जिनियर हुने र असारे विकासले राजमार्ग क्षेत्रमा पानी पर्ने वित्तिकै सडक अवरुद्ध हुने, पहिरो जाने र धनजनको क्षति हुने, धादिङवेसीमा सञ्चालित पेट्रोल पम्पको अनुगमन गरी प्रविधि मैत्री बनाउन पर्ने विषय उठान गरे । सरकारी सेवाप्रति जनविश्वास बढाउन अभियान सञ्चालन गर्न उनले सुझाए । यसैगरी गैसस महासंघका जिल्ला अध्यक्ष शालिकराम दुवाडीले यात्रुको असुविधालाई ध्यानमा राखि यात्रुवाहक बस माइक्रोको अनुगमन प्रभावकारी बनाउनु पर्ने देखिएको बताए ।
जेष्ठ नागरिक एकराज पाण्डेले जेष्ठ नागरिकहरुले गाडी भाडामा छुट नपाएकोले अनुगमन गर्नुपर्ने सुझाव दिए । उपभोक्ता हित संरक्षण मञ्चका शिवराज सापकोटाले विकास पर्यावरण र प्रकृति मैत्री नभएकोमा चिन्ता व्यक्त गर्दै अझपनि उपभोक्ता ठगिने क्रम नरोकिएको बताए ।
जिल्ला समन्वय समिति पूर्व सदस्य उर्मिला रेग्मीले प्रहरी कार्यालय र न्यायिक समिति विच सन्वय नहुदाँ पीडितहरुले दुःख पाएको बताइन् । अधिकारकर्मी निशा गजुरेलले यात्रुहरु गाडी भाडामा ठगिएको बताइन् । जिसस सदस्य राम प्रसाद रिजालले यस्ता कार्यक्रमहरु व्यक्तिगत स्तरसम्म पु¥याउन स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताए । नेपाली कांग्रेसका कोषाध्यक्ष राम प्रसाद अधिकारीले खाद्य वस्तुको मूल्य अस्भाविक रुपमा बढाइएकाले प्रभावकारी बजार अनुगमन गर्नु पर्ने बताए । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले पालिकासँग समन्वय गरेर कार्यक्रमहरु गर्दा राम्रो हुने धारणा राखे ।
गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले संविधान र कानुनी प्रावधान अनुसार सवै संयन्त्र चलायमान हुन आवश्यक छ र आपसमा समन्वय र सहकार्य उति नै अपरिहार्य रहेको बताए । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले एकिकृत रणनीति सुरक्षा योजनाको उद्देश्य, भावी सुरक्षा रणनीति, मुख्य सुरक्षा चुनौती तथा समस्याहरु, चुनौति सामाना गर्न गर्नुपर्ने कार्य र अन्य विषयमा प्रस्तुतिकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्