पथलैया बजार २४ सै घण्टा सञ्चालनको तयारी «

पथलैया बजार २४ सै घण्टा सञ्चालनको तयारी

मधेश प्रदेशको बारामा रहेको महेन्द्र राजमार्ग तथा त्रिभुवन राजपथको संगमस्थल पथलैयालाई २४ सै घण्टा खुला बजार हुने भएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ, नाट्टालगायतका संघ संस्थाले राजमार्गको आवश्यकता र व्यावसायिक प्रर्वद्धनका लागिस्थानीय सरकारलाई बिगत ५ वर्षदेखि गरेको आग्रहलाई जितपुर सिमरा उपमहानगरले यस पटक नीति तथा कार्यक्रमबाट आधिकारीक घोषणा गर्न लागेको हो ।
जिल्लामै पथलैया राजमार्गका यात्रु तथा पर्यटकलाई नेपाली र भारतीय परम्परागत खानाको साथै बासको सुरक्षित गन्तव्यको रुपमा चिनिन्छ । ९० प्रतिशत होटल तथा लज सञ्चालन रहेको पथलैयामा राजमार्गका यात्रु र पर्यटकबाहेक सीमावर्ती रक्सौल, आदापुर लगायतका भारतीयको रोजाई पथलैया बजार पुग्ने नास्ता खानाको स्बाद लिँदै सोही दिन फर्कने गरेको पाइन्छ ।
राजमार्गका यात्रु तथा भारतीय पर्यटकलाई सुरक्षित रुपमा व्यावसायिक सेवा प्रदान गर्ने र खस्कँदो व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले पथलैयालाई स्थानीय सरकारलगायतका संघ संस्थाले २४ सै घण्टा बजार सञ्चालनमा ल्याउन लागेको हो ।
“हामीले स्थानीय सरकार जितपुर सिमरा उपमहानगरको नीति तथा कार्यक्रममा पथलैयालाई २४ घण्टा खुला बजारको रुपमा घोषणा गर्न माग गरेका छौं” होटल तथा पर्यटन व्यवसायी संघ बाराका कार्यबाहक अध्यक्ष अर्जुन लम्सालले भने, “व्यवसायको सम्मान राष्ट्रको सम्मान हो, अनुमति बिनै रात्रीकालीन सेवा प्रदान गर्दै आएको पथलैयालाई व्यावसायिक सम्मान गर्न स्थानीय तहले आधिकारीक घोषणा गर्न दायित्व बन्छ ।”
महेन्द्र राजमार्गको निर्माणसँगै सहजरुपमा सञ्चालन हँुदै आएको पथलैयालाई पूर्णरूपमा खुला गर्दा हुने सकारात्मक र नकारात्मक असरबारे ठूलो अध्ययनको आवश्यक नभएको बताउँदै जितपुर सिमराका प्रमुख राजन पौडेलले आवश्यकताको आधारमा निर्णय लिइने बताए । उनले व्यवसायी संघ संगठनका प्रतिनिनिधिसँगको चरणवद्ध रुपमा छलफल भइरहेको र व्यवसाय प्रर्वद्धनमा स्थानीय सरकारले भूमिका निर्वाह गर्ने बताए ।
पथलैया–विरगन्ज औद्योगिक करिडोरको मुख्य द्वारको रुपमा रहेको पथलैया बजारलाई व्यापारीक मार्ग आयोजनाले सडकमा बत्ति, जेब्राक्रस, ट्राफिक लाइट तथा सर्भिस लेस बनाएको छ । व्यावसायिक बजार मात्र भएको कारण सर्भिस लेननै साना सवारीको पार्किङ स्थल बन्दै आएको छ ।
आयोजना बाहेक उपमहानगरले पथलैयालाई थप लाइट बिस्तार गरेको छ । प्रमुख पौडेलले स्थानीय सरकार व्यवसायमैत्री रहेकाले पथलैया २४ सै घण्टा खुलासँगै व्यवस्थित बनाउँदै लैजान उपमहानगरले दायित्व बहन गर्ने प्रतिवद्धता जनाएका छन् ।
व्यवसाय खुलेपछि बन्द नहुनेगरी सजगता र तयारी अपनाउन पथलैयाका ब्याबसायीलाई आग्रह गर्दै जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले पथलैयाका व्यवसायीले निर्धारित मापदण्डमा रहेर नीति नियम पालना गर्दै व्यवसाय सञ्चालन गर्नेमा आफू ढुक्क रहेको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले स्थानीय सरकारले तोकिएको नीति नियममा रहेर व्यावसायिक कारोबारमा शान्ति सुरक्षालगायतका विषयमा प्रशासन सधैँ सहयोगी रहने बताए ।

प्रतिक्रिया दिनुहोस्