Logo

धादिङ–काठमाडौं सुरुङमार्गको प्रगति ५६ प्रतिशत

निर्माणाधिन नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्र प्रगति ५६ प्रतिशत पुगेको छ । मंगलबार आयोजनाले प्रगति विवरण जारी गर्दै काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटर र निकासी सुरुङमार्ग २५ सय ५७ मिटर सुरुङ खन्ने काम पूरा भएको जनाएको छ ।
आयोजनाको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.५ प्रतिशत र समग्र प्रगति ५६ प्रतिशत छ ।
मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात् कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ । सुरुङ छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ (फिनिसिङ)को काम समेत तिव्रताका साथ अघि बढाएको हो ।
हालसम्म मुख्य, सहायक सुरुङ, वर्किङ अडिट र क्रस प्यासेज गरी ५४ सय ९९ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरण आयोजनाले सार्वजनिक गरेको छ ।
आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ३७ प्रतिशत थियो । अघिल्लो महिनासम्म काठमाडौं र धादिङतर्फ दुवै गरी मुख्य सुरुङमार्गको २६ सय ८८ मिटर, निकासी सुरुङमार्ग २५ सय ५७ मिटर कुल ५४ सय ९९ मिटर सुरुङ छेड्ने काम सम्पन्न भएको थियो ।
गत वर्षको पुस ७ बाट सुरुङ छेड्ने काम थालिएको थियो । ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाइको सुरुङमार्ग शिलान्यास गरेका थिए । लम्बाइ २.६८ किमी, चौडाइ ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग निर्माण हुनेछ । कोभिड–१९ र आन्तरिक तयारीका कारण केही ढिलो भएको थियो । २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । कार्यतालिका अनुसार नै सुरुङमार्गको काम भइरहेकाले निर्धारित समयमा नै आयोजना सम्पन्न हुने शाक्यले बताए ।
नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा सुरुङमार्ग निर्माण हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्