चक्रपथ विस्तारको अन्योल उस्तै «

चक्रपथ विस्तारको अन्योल उस्तै

चक्रपथको दोस्रो (कलंकी–महाराजगञ्ज) खण्ड विस्तारमा अन्योल उत्पन्न भएको छ । कोरोना महामारीका कारण रोकिएको उक्त खण्ड विस्तारको काम अझै सुरु भएको छैन ।
गत वर्ष असारमा नै सडक विभागले महाराजगञ्ज क्षेत्रको २ सय ४४ मिटर छोडेर निर्माण थाल्न पत्राचार गरेको भए पनि चिनियाँ निर्माण कम्पनीले हालसम्म कुनै प्रतिक्रिया नदिएपछि अन्योल भएको हो । नेपाल सरकारले सर्भिस लेन निर्माणको लागि ठेक्का आह्वान गरेर कम्पनी छनोट हुने क्रममा रहेको भए पनि चिनियाँ पक्षले कोभिड–१९ र साइट क्लियर नभएको जनाउँदै हालसम्म कुनै प्रतिक्रया नदिएको सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता भीमार्जुन अधिकारीले बताए । उनले भने, “कोभिड–१९कै कारण देखाउँदै आयोजनाको प्रगति हुन सकेको छैन । आयोजनाले कुनै गति लिएको छैन ।”
गत मंसिरमा चिनियाँ प्राविधिकको टोलीले साइट भिजिट गरेर स्वदेश फिर्ता भए पनि साइट क्लियर नभएसम्म निर्माण कार्य अगाडि नबढाउने आशय बुभिएको विभागको भनाइ छ । सरकारले सो खण्ड विस्तारको लागि आगामी आर्थिक वर्षमा १ अर्ब बजेट विनियोजन गरेको छ । सो बजेट सडक विस्तारका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यमा खर्च हुने प्रवक्ता अधिकारीले बताए । साइट क्लियर हुन बाँकी रहेको साइट छोडेर चिनियाँ निर्माण कम्पनीलाई पत्राचार गरेको भए पनि कोभिड–१९का कारण तत्काल केही औपचारिक जानकारी हालसम्म नदिएको विभागले जनाएको छ । चिनियाँ निर्माण कम्पनीले साइट क्लियर नभएको बताउँदै हालसम्म कुनै प्रतिक्रया नदिएको बताइएको छ ।
कलंकीको स्युचाटारदेखि महाराजगञ्ज सुकेधारा पुलसम्मको साइट क्लियरेन्सको काम करिब पूरा भइसकेको छ भन महाराजगञ्जको २ सय ४४ मिटर सडक खण्डको साइड क्लियर हुन बाँकी रहेको छ । सो क्षेत्रमा करिब २ दर्जन घरको मुआब्जा सरकारले दिनु पर्नेछ । विभागका अनुसार घरको मुआब्जा दिने तर जग्गाको मुआब्जा नदिने गरी फाइल अगाडि बढाएको छ । कानुनी प्रक्रिया पूरा गर्दा आयोजनाको विस्तार ढिलाइ भएको र साइट क्लिय हुन बाँकी रहेको जनाइएको छ ।
उक्त सडक खण्डको लम्बाइ ११.६ किलोमिटर छ । चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण हुने सो आयोजनाको नेपाल सरकारले साइट क्लियर गरेर दिएपछि डिजाइन गरी विस्तार गर्ने गरी सरकारसँग सम्झौता गरिसकेको छ । अघिल्लो वर्षको फागुनमा नै सरकारले साइड क्लियर गरेर विस्तारको जिम्मा दिने योजना भए पनि आन्तरिक प्राविधिक तथा कोभिड–१९का कारण आयोजनाको कार्यप्रगति ढिलो भएको छ ।
सडक निर्माणका लागि कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर काम थाल्ने योजना छ । कलंकी–महाराजगञ्ज सडक चीनले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेको छ । तर, डीपीआर निर्माणका लागि सीमा क्षेत्र साइट क्लियर हुनुपर्ने चिनियाँ पक्षको शर्त रहेको छ । विभागका अनुसार सबै साइट क्लियर गरेरमात्र आयोजनाको काम थाल्ने चिनियाँ पक्षले अडान राखेको छ ।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २÷२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ । बाँकी १२ मिटर चौडाइमा भने नेपाल सरकारले एक÷एक लेनको साइकल लेन र यससँगै पैदलयात्रु लेन पनि बनाउनेछ । सो क्षेत्रमा रहेका करिब १९ सय रुख कटानको लागि लिलामी प्रक्रिया पनि सुरु भइसकेको छ । साढे आठ किलोमिटर सडक खण्ड पनि २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत अनुमान छ । सन् १९७७ मा चीनकै सहयोगमा साढे २७ किलोमिटर चक्रपथ निर्माण गरिएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चक्रपथको कलंकी–कोटेश्वरमा साढे १० किलोमिटर सडक विस्तार भइसकेको छ । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० चक्रपथ सालदेखि विस्तारको काम अघि बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्