Logo

ब्रोकर लाइसेन्स हरेक वर्ष खुला

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र खुला रूपमा हरेक वर्ष वितरण गर्ने भएको छ । हाल सेयर ब्रोकरका लागि परीक्षा लिने अनि मात्र लाइसेन्स दिने व्यवस्था गरिएकोमा बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेर हरेक वर्ष साउनमा इच्छुक ब्रोकरसँग आवेदन खुला गर्ने तथा रितअनुसार योग्यता पुगेकालाई लाइसेन्स दिने व्यवस्था लागू भएको छ ।
नियमावलीका अनुसार हाल सञ्चालनमा रहेका ब्रोकर कम्पनीले २ करोड रहेको चुक्ता पुँजी २ वर्षभित्र १० गुणाले बढाएर २० करोड पु¥याउनुपर्ने छ भने नयाँ ब्रोकरले २० करोडकै चुक्ता पुँजीसहित साउनमा आवेदन दिनु पर्ने छ । बोर्डले निश्चित मापदण्ड पुगेका आवेदकलाई लाइसेन्स दिनैपर्ने व्यवस्था पनि नियमावलीले गरेको छ । पुँजी, अनुमति प्रदान सम्बन्धी दस्तुर, सञ्चालकहरुको योग्यता, संस्था प्रमुखको योग्यता, सूचना प्रविधिलाई आधार बनाएर बोर्डले अनुमतिपत्रबारे निर्णय लिनेछ ।
यस्तै हाल सेवा सञ्चालन गरिरहेका सेयर ब्रोकरहरु सीमित कार्य गर्ने सेयर दलालका रुपमा रहेका छन् । अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी (स्टक डिलर) गरी तीन किसिमको अनुमति पत्र जारी हुनेछन् । पूर्ण सेवा दिने सेयर ब्रोकरले अब ६० करोड चुक्ता पुँजी पु¥याउनुपर्ने छ । साउनमा नयाँ आवेदन दिने बाहेक हाल सञ्चालनमा रहेका ब्रोकरले पनि स्तरोन्नतिका लागि आवेदन दिन सक्नेछन् ।
नागरिक स्टक डिलर जस्ता धितोपत्र व्यापारीको लाइसेन्सका लागि १ अर्ब ५० करोड चुक्ता पुँजी बनाउनु पर्नेछ । साथै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारीको लाइसेन्स अब बैंकहरुले पनि लिन सक्ने पनि बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्