हैजाका लक्षण र बच्ने उपायहरू «

हैजाका लक्षण र बच्ने उपायहरू

केही समयअघि मात्र टेकु अस्पतालमा दुई जना हैजाको बिरामी भेटिएको पुष्टि भएको समाचारले हामी सबैलाई त्रसित बनाएको छ । यसका साथसाथै काठमाडौं उपत्यकाभित्रका केही ठाउँमा हैजाबाट संक्रमित भएका बिमारीहरू देखा पर्न थालेका छन् । अहिलेको समय भनेकै अत्यधिक वर्षा हुने र रोगहरू तीव्र मात्रामा फैलने समय हो । यतिबेला घरबाहिरको खाना सेवन गर्नु भनेको रोग निम्त्याउनु हो । जाडो मौसममा मानिसहरूले खाना मज्जाले पचाउन सक्छन् । हत्तपत्त खाना पनि नबिग्रने र नगन्हाउने हुनाले पनि जाडो मौसममा यस्ता सरुवा रोगहरू प्रायः कम नै लाग्ने गर्छ । वर्षाको कारण जथाभावी फालिएका फोहोरहरू बगाउने तथा त्यसबाट निस्किएको दुर्गन्धले वायु प्रदूषणका साथसाथै रोगहरू फैलाउनमा मद्दत गर्ने गर्छ । त्यसमाथि अहिले बजारमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएका फलफूलहरू उपभोग गरिने हुनाले र यसका साथसाथै बाढीपहिरोका कारण पानी पनि बढी दूषित भएका कारण मानिसहरूमा पेट कटकटी खाएर दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने, अपच हुनेजस्ता स्वास्थ्य समस्याहरू आइराखेको छ । त्यसैले अहिलेको समय भनेको हैजा तथा अन्य सरुवा रोगहरू फैलने समय हो ।
सामान्य भाषामा भन्नुपर्दा हैजा भनेको झाडाबान्ता लाग्नु हो । तर, सैद्धान्तिक तथा विद्वान्हरूका अनुसार हैजा भन्नाले भिब्रियो कलेरा नामक ब्याक्टेरियमका कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । यो ब्याक्टेरिया हाम्रो शरीरभित्र पस्यो भने झाडापखाला लाग्छ । हैजा भएका मानिसको दिसामा उक्त कीटाणुहरू निस्कन्छन् । ती कीटाणु पानी र खानाको माध्यमबाट मानिसको पेटभित्र प्रवेश गरेमा आन्द्रामा सो ब्याक्टेरियाले संक्रमण गरी झाडापखाला लाग्ने गर्छ र सरसफाइको अभावका कारण हैजा लाग्छ । त्यसैले हैजा भएका दसमध्ये एक जनामा गम्भीर हैजा हुने अध्ययनहरूले देखाएको छ ।
पानी र खानपिनको माध्यमबाट यो रोग सर्ने हुँदा घरमा एक जनालाई भएमा लगभग सबैलाई हुने गर्छ । जसका लक्षणहरू निरन्तर पातलो चामल धुँदा निस्कने चौलानीजस्तो दिसा लाग्नु, मांसपेशी बाउँडिनु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हो । कीटाणु शरीरमा प्रवेश गरेको २४ घण्टादेखि हैजाका लक्षणहरू देखिन थाल्छन् । तर, कसैकसैमा लक्षण नदेखिएर गम्भीर खालको हुन सक्छ । हैजा भएका बिरामीलाई पीडा नहुने भएका कारण अन्य संक्रमणभन्दा यो जोखिमपूर्ण मानिन्छ । कडा किसिमको संक्रमण भएका बिरामीले समयमै उपचार नपाउने हो भने उनीहरूको मृत्यु हुने सम्भावना धेरै रहन्छ । त्यसैले बारम्बार बान्ता र पखाला लाग्नाले शरीरमा पानीको मात्रा कमी हुने हुँदा प्रशस्त मात्रामा पानी, सफा, ताजा र झोलिलो खानेकुरा खानुपर्छ । यसका साथै जीवनजल, दाल, दही फलफूलको जुस, केराजस्ता खाद्य पद्धार्थको धेरै सेवन गर्नुपर्छ । जीवनजल नपाउने ठाउँमा चिनी, नुन र पानीको झोल खुवाउनुपर्छ । यसरी रेखदेख गर्दा पनि शरीर कमजोर, पिसाबको मात्रा कम भई अचेत अवस्थामा पुगेमा तुरुन्त अस्पताल लाग्नुपर्छ । त्यसैले यसबाट बच्नका लागि सकेसम्म बासी खानेकुरा र फोहोर पानी नखाने, सरसफाइमा ध्यान दिने, दिसा–पिसाब गरेपछि राम्रोसँग मिचीमिची साबुनपानीले हातखुट्टा धुने, जंक फुड नखाने, जथाभावी नछुनेजस्ता जनस्वास्थ्यका मापदण्ड अपनाउने, त्यसका अतिरिक्त घरमा कसैलाई हैजा भएमा त्यहाँबाट निस्कने फोहोरलाई राम्रोसँग विसर्जन गर्ने, समुदायमा पानीको मुहान सफा भए÷नभएको बेलाबेलामा जाँच गर्ने गर्नुपर्छ । तर, रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हो । त्यसैले हैजा फैलिनुअगाडि नै यसविरुद्धको खोप लगाउनु सबैभन्दा राम्रो उपाय हो । स्वास्थ्य सेवा प्रभावकारी नभएको ठाउँमा खोप पु¥याउनु अत्यावश्यक छ । हैजाले मानिसलाई मृत्युको मुखमा पु¥याउन सक्ने भएकाले उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्