साँगुरीगढी गाउँपालिकाको जोड शिक्षा, स्वास्थ्य र रोजगारी «

साँगुरीगढी गाउँपालिकाको जोड शिक्षा, स्वास्थ्य र रोजगारी

धनकुटाको साँगुरीगढी गाउँपालिकाले उत्पादन, पर्यटन क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र विकास निर्माणलाई जोड दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
‘पर्यटन, कृषि र पूर्वाधारको विकास, साँगुरीगढी समृद्धिको आधार’ भन्ने गाउँपालिकाको लक्ष्यलाई पूरा गर्नका लागि बजेटले गन्तव्य तयार गरेको र सोहीअनुसार नै बजेट आएको गाउँपालिका उपाध्यक्ष मुना राईले बताइन् । गाउँपालिकाले कृषि तथा पर्यटनमा आधारित स्थानीय अर्थ व्यवस्थालाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने, साँगुरीगढीका जनताको आय अभिवृद्धि, आत्मनिर्भरताको विकास गर्दै उद्यमशीलतासँंग आबद्ध हुने प्राविधिक, सीपमूलक शिक्षालाई जोड दिएको छ । त्यसैगरी स्वच्छ खानेपानी, दिगो सडक, पर्याप्त सिँचाइ, जलवायु परिवर्तन अनुकूलन तथा वातावरण संरक्षण, सूचना प्रविधिको विकास र विस्तारलगायतका पक्षलाई प्राथमिकतामा राखेर ५३ करोड, चार लाख, २३ हजार ५ सय १० रुपैयाँको बजेट ल्याएको उपाध्यक्ष राईले बताइन् ।
कुल बजेटको आन्तरिक आयतर्फ राजस्वबाट एक करोड ३८ लाख ३९ हजार, संघीय सञ्चित कोषबाट प्राप्त वित्तीय सामान्यीकरण अनुदानबाट १० करोड ४६ लाख, संघीय सरकारको सशर्त अनुदान २४ करोड २४ लाख रहेको छ । संघीय सञ्चित कोषको राजस्व बाँडफाटबाट आठ करोड ६३ लाख, ४६ हजार, प्रदेश सरकारको राजस्व बाँडफाट अनुदानबाट ४१ लाख, २७ हजार रहेको छ । प्रदेश सरकारको सशर्त अनुदानबाट १७ लाख, २८ हजार, प्रदेश सरकार संचित कोषबाट प्राप्त वित्तीय सामान्यीकरण अनुदानबाट ५५ लाख, ६७ हजार रहेको छ । प्रदेश सरकार संचित कोषबाट प्राप्त समपूरक एक करोड, गाउँपालिकाको संचित कोषको मौज्दात ६ करोड, सडक बोर्डको १० लाख, एलजिसिडिपी कार्यक्रमको पाँच लाख र करुण फाउण्डेसन नेपालको तीन लाख रुपैयाँ रहने गरी बजेट निर्माण गरिएको उपाध्यक्ष राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्