कर्मचारी र व्यापारीले निर्माण गरे रारा जाने पदमार्ग

पर्यटकीयस्थल रारा अर्थात् (महेन्द्र) ताल पुग्न लामाचौरबाट पर्यटक पदमार्ग निर्माण गरिएको छ । मुगु जिल्लामा रहेका निजामती, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र ब्यापारीको पहलमा छायाँनाथ रारा नगरपालिका–३ लामाचौर गैराकाँडादेखि रावत महादेव, भेडीखोर, दिघे भालु, ठाकुरनाथ मन्दिर हुँदै रारा तालसम्म पुग्ने छोटो नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ ।
हाल लामाचौर र सल्लेरीबाट रारा जाने गरिए पनि यो पदमार्ग निर्माणपछि लामाचौरबाट छोटो पदमार्गमा जिल्ला सदरमुकाम गमगढी बजार आसपासमा रहेका पर्यटकीयस्थान अवलोकन गर्न सकिने भएको छ । पर्यटकीय पदमार्ग निर्माण गरिएको स्थान लामाचौरसम्म पुग्न सदरमुकाम गमगढी बजारबाट करिब डेट घण्टा लाग्छ भने लामाचौरबाट करिब २० देखि ३० मिनेटको पैदल यात्रामा रारा ताल पुग्न सकिन्छ । यो स्थानबाट पदमार्गको असहजता भएको हँुदा जिल्लामा रहेका सुरक्षा निकाय, निजामती कर्मचारी, उद्योगी ब्यापारीको सक्रियतामा एक दिनको श्रामदानबाट छोटो पदमार्ग निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
सदरमुकाम गमगढी बजारदेखि रारा तालको काख सल्लेरी र लामाचौरसम्म सवारीसाधनमा पनि जान सकिन्छ । तर, पैदलबाट रारा पुग्ने पर्यटकका लागि यो छोटो नयाँ पदमार्ग निर्माण गरिएको हो । रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन नयाँ पदमार्ग निर्माण गरिएको हो । यस मार्गबाट पर्यटकलाई आकर्षित गर्नसके बर्सेनि हजारौं पर्यटकले रारा तालको अवलोकन गर्ने मुगु उद्योग वाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढाले बताए ।
नयाँ पदमार्ग निर्माणपछि लामाचौरका होटलमा पर्यटनको संख्या वृद्धि हुने र तालको किनारमा रहेका गाउँलेहरूको आर्थिक अवस्थामा सुधार हुनुका साथै रोजगारीमा समेत सघाउ पुग्ने अध्यक्ष बुढाले बताए ।