विश्वविद्यालयप्रति सरकार गम्भीर छ : मन्त्री पौडेल «

विश्वविद्यालयप्रति सरकार गम्भीर छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको बताएका छन् ।
मन्त्री पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम सदाका लागि अन्त्य गर्न सरकारले समयमा परीक्षा लिने, परिणाम निकाल्ने र विद्यार्थीहरूले पठनपाठनसम्बन्धी उठाएका अन्य मागको सम्बोधन गर्न गम्भीर छलफल र संवाद भइरहेको बताए । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउन नहुने विषयमा सांसदहरूले राखेको धारणा जायज रहेको प्रतिक्रियासमेत दिए । मन्त्री पौडेलले सांसदहरूले तालाबन्दीको विरोध गरेपछि त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयमा लगाइएको तालाबन्दी खुलेको पनि स्मरण गराए ।
उनले भने, “विश्वविद्यालयसँग सम्बन्धित पठनपाठनमा केही समस्या आयो भने वार्ता, सहमति र संवादको माध्यमबाट हल गर्ने हो । चाबी लगाउने, तालाबन्दी गर्ने, डिस्टर्ब गर्ने, प्रशासनिक काम गर्न नदिने, परीक्षा प्रणालीलाई डिस्टर्ब गर्ने कुरा राम्रो हँुँदैन । त्यस कारणले हामी अहिले रहेका कतिपय विश्वविद्यालयहरू बन्ने क्रममा छन । र, चालू रहेका विश्वविद्यालयलाई उहाँहरूको परीक्षा प्रणाली, परीक्षा निकाल्ने समय अवधि र त्यसलाई नियमन र नियमित गर्नको निम्ति हामी उहाँहरूसँग गम्भीर रूपमा छलफल, संवाद र कुराकानीमा छौं र लामो समयपछि त्रिभुवन विश्वविद्यालयको तालाबन्दी पनि यसैसँग सम्बन्धित रहेर सदनमा नै यो विषयमा कुरा उठेको हुनाले कतिपय तालाबन्दी गर्ने पक्षलाई पनि नैतिक दबाब भएको हुनाले अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयमा तालाबन्दी छैन । र, यो तालाबन्दी नहोस् भन्ने कुरा जुन उठाउनु भएको छ । त्यो जायज कुरा हो ।”
मन्त्री पौडेलले विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने खालका कुनै पनि गतिविधि राम्रो नभएको पटकपटक दोहो¥याएका थिए ।

प्रतिक्रिया दिनुहोस्