इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्न निर्देशन «

इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्न निर्देशन

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य पुष्टि गर्नेगरी समिति गठन गर्न निर्देशन दिएका छन् ।
सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएलगत्तै पदबहाली गर्ने क्रममा उनले सरकारले लागू गरेका स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको औचित्यका विषयमा सहसचिवको नेतृत्वको अध्ययन समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढ्ने बताए ।
मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट लागू गर्ने कुनै मेकानिजम बिना लागू भएकाले विवाद भइरहेको बताए । उनले स्मार्ट लाइसेन्स, इम्बोस्ट नम्बर प्लेट वितरणको औचित्य र सडक र रेलमार्ग एवं यातायातका रुग्ण आयोजनाहरुको पनि अध्ययन गरेर कारबाही थालिने बताए । भौतिक पूर्वाधार देशकै सबैभन्दा धेरै पुँजीगत खर्च गर्ने मन्त्रालय भएको भन्दै उनले अब रुग्ण आयोजनालाई सहनशीलताको नीतिबाट नहेर्ने बताए ।
रुग्ण आयोजनाहरुलाई शुन्यमा झार्न के गर्नुपर्छ भन्ने कुरा अध्ययन प्रतिवेदन आएपछि काम गर्ने भन्दै उनले १५ दिनमा दुईवटा समितिको प्रतिवेदन आएपछि मात्रै एक्सनमा उत्रने बताए ।
मन्त्री राईले पूर्वाधार पुल÷पुलेसा लगायत विकास निर्माणमा व्यवस्थापनका लागि वर्षे,टुक्रे योजनामा खर्च देखाउने हिसावले मात्रै नभएर परिणाम देखिने गरी रुग्ण आयोजनाहरुलाई समेत शुन्यमा झार्नुपर्ने बताए ।
मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णय गर्न प्रस्तावलाई अस्वीकार गर्दै मन्त्री राईले राष्ट्रिय यातायात नीतिको मस्यौदा कमिटी गठन गर्ने निर्णयसँगै स्मार्ट लाइसेन्स र इम्बोस्ड नम्बर प्लेट वितरणको औचित्य र वितरण सुधारबारे अध्ययन गर्न सहसचिवको नेतृत्वमा समिति बनाउने निर्णय गर्नेगरी मस्यौदा बनाउन निर्देशन दिए ।
मन्त्री राईले भौतिक पूर्वाधार, यातायात, रेल तथा पानीजहाज समेतको योजना बनाएर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्