आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने परिपाटी रोक्न माग «

आर्थिक वर्षको अन्त्यमा बजेट सक्ने परिपाटी रोक्न माग

नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले विकास बजेटलार्ई असार मसान्तमा आएर सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटाले आर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताइन् । उनले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै खर्च गर्ने प्रवृत्तिले विकासको गतिलाई तीब्रता दिन नसकिने र दिगो विकास नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताइन् ।
“चालु आर्थिक वर्ष पुँजीगत ३ खर्ब ७८ अर्ब बजेट विनियोजन भएकोमा गएको हप्तामा मात्रै ८ अर्ब १६ करोड बजेट खर्च भएको छ” उनले भनिन्, “बजेट फ्रिज हुने बहानामा योजनाहरुमा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ । यसले विकास दिगो हुन सक्दैन । विनियोजित बजेट फ्रिज हुने तरिकालाई अब निरुत्साहित गर्नका लागि नीतिगत रुपमा सुधार गर्नुपर्छ ।”
उनले काम गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै समयमै काम गर्न र बजेट खर्च गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुने बताइन् ।
सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरु चिन्तित रहेको बताइन् । उनले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको बताइन् । मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख गर्दै उनले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्