अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको आरोप «

अर्थमन्त्री शर्माले ठूलै आर्थिक चलखेल गरेको आरोप

बजेट निर्माणको बेलाको सीसीटीभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले आरोप लगाएका छन् ।
उपमहासचिव ज्ञवालीले बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएको सरकारले त्यसको सिसीटिभी फुटेज डिलिट गराएर अर्को जघन्य अपराध गरेको उपमहासचिव ज्ञवालीको दाबी छ । सोमबार संसद भवन परिसरमा पत्रकारहरूमाझ उहाँले सो घटनाको सीसीटीभी फुटेज डिलिट भएको भनेर अर्थ मन्त्रालयले त्यसमा गम्भिर घोटाला भएको आफैंले पुष्टि गरेको जिकिरसमेत गरे ।
उपमहासचिव ज्ञवालीले सो घटना अक्षम्य अपराध भएको उल्लेख गर्दै त्यसमा संलग्न अर्थमन्त्री शर्मासहितलाई तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो पार्टीको अडान रहेको पनि स्पष्ट पारे । उनले भने, ‘वास्तवमा यो दोहोरो अपराध हो । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश र उनीहरूको उपस्थितिमा करका दरहरूको हेरफेर यो एउटा जघन्य अपराध त छँदैथियो । यो अपराधलाई लुकाउनका निमित्त त्यस सम्बन्धि प्रमाण नष्ट गर्नका लागि यदि साँच्चैनै सीसीटिभी फुटेज नष्ट गरिएको हो भने अर्को ठूलो अपराध हो । र, यो ढंगको अपराधमा संलग्नहरू अविलम्ब उनीहरूमाथि छानवीन भएर कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ । जसको बारेमा हाम्रो दलका नेता पार्टी अध्यक्षले बोलिसक्नु भएको छ । र, यो फुटेज डिलिट भएको भन्ने तथ्यहरू बाहिर ल्याएर वास्तवमा यसमा गम्भिर घोटाला भएको छ भन्ने, गम्भीर अनियमितता भएको छ भन्ने तथ्य चाहिँ स्वयम् अर्थ मन्त्रालयले पुष्टि गरेको छ । यदि यस्तो थिएन भने ऊ आफैं यति गम्भीर विषयहरू उठिसकेपछि फुटेज सार्वजनिक गरेर यससम्बन्धी उठेका अन्यौलहरूलाई क्लिएर गर्नेतिर लाग्दथ्यो । त्यसो भएर एउटा बदमासीलाई ढाकछोप गर्नका लागि अर्को बदमासी पनि गरिएको छ । जुन अक्षम्य हो भन्ने हाम्रो मान्यता छ ।’
उपमहासचिव ज्ञवालीले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर जघन्य अपराध गरेको सरकारले त्यसको प्रमाण नै नष्ट हुने गरी सिसीटिभी फुटेज पनि डिलिट गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्