सहकारीमार्फत कृषकलाई कृषि औजार «

सहकारीमार्फत कृषकलाई कृषि औजार

स्याङ्जाको वालिङस्थित न्यू गाउँबेंसी बहुउद्देश्यीय सहकारी संस्थाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । सहकारी रजिष्टार कार्यालय गण्डकी प्रदेश पोखराको ५० प्रतिशत अनुदान सहयोगमा सहकारीमार्फत कृषि औजारहरू वितरण गरिएको हो ।

कृषिउपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको सहकारीले जनाएको छ । कृषकलाई परम्परागत खेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरणमा अग्रसर बनाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा सहकारीले कृषि औजार वितरण गरेको छ ।

कृषकहरूको माग र आवश्यकताका आधारमा सहकारीमार्फत कृषकहरूलाई कृषि औजार उपलब्ध गराईएको संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले बताए । मागका आधारमा सहकारीमार्फत ११ वटा कम्बाईण्ड मिल र सात वटा हाते ट्रयाक्टर वितरण गरिएको अध्यक्ष खनालले बताए ।

“गाउँघरमा काम गर्नसक्ने जनशक्ति बिदेसिएर काम गर्ने मान्छे नभएपछि खेती गर्न सहज होस भनेर ५० प्रतिशन अनुदानमा मिनीटेलर वितरण गरेका छौं ।” खनालले भने, “गोरु पाल्न छाडेको र काम गर्न सक्ने युवा अहिले प्रायः गाउँमा नभएका कारण खेती गर्न नसकेर जमिन बाँझो राख्न नदिन औजार दिएका छौं ।” ५४ हजार मुल्यको औजारलाई २७ हजार रजिष्टार कार्यालय र २७ हजार कृषक समूहले ब्यहोर्नेगरी औजार दिइएको छ ।

कृषि औजार हस्तान्तरण गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार उदयबहादुर पराजुलीले कृषिमा आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिंदै लागत घटाउन र उत्पादनमा वृद्धि गर्नका लागि कृषि औजारहरूको महत्वपूर्ण भूमिका हुने विश्वास जनाए ।

औजार वितरण गरेपछि काममा सहजता हुने र काम गर्नेले आलोपालोसँग खनजोत गर्दा रोजगारी पाउने भएकाले यान्त्रिकीकरणलाई जोड दिएको अध्यक्ष खनालले बताए । रजिष्टार कार्यालयको अनुदानमा स्थानीय कृषकलाई ११ वटा कुटानी–पिसानी मिल समेत वितरण गरिएको छ ।

कृषकलाई कृषि कार्यमा उत्साह र उत्प्रेरणा प्रदान गर्न कृषिजन्य वस्तुको उत्पादन बढाउन औजार सहयोग गरिएको रजिष्टार कार्यालयले पोखराले जनाएको छ । औजार सहयोग कार्यलाई प्रदेशभर सञ्चालन गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्