कर्मचारी बचत वृद्धि अवकास योजनामा भुक्तानी गर्न नागरिक लगानी कोषको नयाँ सुविधा

नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकास योजना अन्तर्गत रकम भुक्तानीका लागि नयाँ व्यवस्था गरेको छ ।
कोषले विभिन्न कार्यालय तथा संघ–संस्थाले आफ्ना कर्मचारीका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसिएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरू वा कर्पोरेट पे प्रणालीमार्फत गर्न सकिने गरी सेवाको थालनी गरिएको छ ।
यो सेवाअन्तर्गत संघ–संस्थाहरूले संयुक्त रुपमा आफ्ना कर्मचारीको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टलमार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी गर्न सक्नेछन् । यसरी २० लाख रुपैयाँसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने भएको छ ।
बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्थामार्फत सो रकम जम्मा गर्न सक्छन् । साथै, संघ–संस्था आफैंले पनि कर्पोरेट पेमार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्छन् ।
यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने गर्छ। यसको लागि सुरुमा संस्थागत ग्राहकहरूले वेबसाइटमा लग–इन गरी सर्भिस पेमेन्ट भित्र रहेको गभर्मेन्ट पेमेन्ट अन्तर्गत सिआइटी फाँटबारीमा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गर्नुपर्ने हुन्छ । यसपछि कर्पोरेट पेमा लिंक गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्छन् ।
यसरी बैंक शाखा तथा कर्पोरेट पेमार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाखभन्दा बढी ग्राहकलाई सुविधा हुनेमा कम्पनी विश्वस्त छ । कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास लिएको बताइएको छ ।
नागरिक लगानी कोषले एनसिएचएलका कनेक्ट आइपिएस तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाइल बैंकिङलगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ ।
त्यस्तै, उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरूको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसिएचएलका विभिन्न प्रणालीको प्रयोग गर्दै आएको जनाएको छ ।