ब्याजदर बढ्ने, आयात प्रतिबन्ध थपिने «

ब्याजदर बढ्ने, आयात प्रतिबन्ध थपिने

नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको दबाबलाई निकास दिने तथा ब्याजदर बढ्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने भएको छ । सोमबार आगामी मौद्रिक नीतिको सुझाव संकलनका लागि काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रका प्रायः सबै सूचकमा दबाब रहेका कारण यसको प्रभावलाई सम्बोधन गर्न विश्वका अर्थशास्त्रीहरुले ल्याएका सिद्धान्तहरु प्रयोग गरेर मौद्रिक नीति ल्याउने बताए ।
गभर्नर अधिकारीले अर्थतन्त्रमा बचत कमजोर हुँदै जाने र फजुल खर्च बढ्दै जाने अवस्था भइरहेको बताउँदै पछिल्लो समय व्यक्तिगत र समाजको खर्च गर्ने प्रवृृत्तिमा सुधार नआएको पनि बताए । उनले मुलुकको अर्थतन्त्र आयातमुखी रहेकाले त्यसको असरले अर्थतन्त्रको बाह्य क्षेत्रमा निकै ठूलो दबाब बढेको जिकिर गरे । अर्थतन्त्र आयातमुखी हुँदा यो वर्ष देशबाट करिब ३ खर्ब रुपैयाँ ‘आउटफ्लो’ भएको जानकारी पनि उनले दिए ।
गभर्नर अधिकारीले सरकार, राष्ट्र बैंक तथा निजी क्षेत्र सबै मिलेर अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै बैंकको ब्याजदर बढ्दै जाने संकेत गरे । मौद्रिक नीति सर्प पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् भन्ने गरी ल्याउनुपर्ने अवस्था रहेको पनि उनको भनाइ थियो । मौद्रिक नीति ल्याएपछि त्यसको कार्यान्वयन मुख्य कुरा भएको भन्दै उनले गत वर्ष ल्याएका प्रत्येक नीति अहिले प्रमाणित र कार्यान्वयन भइरहेको दाबी गरे । उनले मौद्रिक नीति ल्याउँदा व्यक्ति–व्यक्तिको पछि लागेर सम्भव नहुने भन्दै भोलिको मार्केटलाई सहज तथा समग्र अर्थतन्त्रलाई पनि सही ट्र«याकमा राख्ने र अर्थतन्त्रको समग्र प्रणालीलाई स्थायित्व दिने गरी नीति आउने स्पष्ट पारे ।
अहिलेको लगानीयोग्य तरलताको दबाब कम गर्न राष्ट्र बैंकले रिफाइनान्स तथा एसएलएफलगायत विभिन्न सुविधामार्फत साढे ३ खर्ब बैंकहरुलाई दिएको बताए । गभर्नर अधिकारीले उद्योगी–व्यवसायीहरुलाई अवैधानिक माध्यमबाट पैसा कमाउने कुरामा सतर्क पनि गराए । उनले उद्योग खोलेर, अरुलाई रोजगारी दिएर र राज्यलाई कर तिरेको जति पनि पैसा बैंकमा जम्मा हुने बताए । तर, अवैधानिक रुपमा कमाएको पैसालाई बैंकिङ प्रणालीमार्फत बाहिर ल्याउँछु भन्ने सोच्नचाहिँ नहुने उनले उल्लेख गरे ।
यसैबीच विदेशी मुद्रा सञ्चितीमाथि दबाब कायम रहेका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप्ने संकेत गरेको छ । आइतबार मन्त्रालय आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध फेरि बढाउने संकेत गरेका हुुन् । “गत वैशाखमा आयातमा रोक लागाइएका १० वस्तुहरुको प्रतिबन्ध लम्बिन सक्छ । अर्थतन्त्रको संकटबाट पहिले देश बचाउनु मुख्य कुरा हो,” उनले भने ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले आयात प्रतिबन्धका बारेमा चासो राखेको बताइएको बेला आयात प्रतिबन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दबाब नभएको पनि उनले बताए । तर, आयात रोकका कारण अर्थतन्त्रमा परेको असरका बारेमा भने अध्ययन भइरहेको उनले बताए । सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्