निर्वाचनमा गठबन्धनबारे माओवादीमा फरक–फरक मत «

निर्वाचनमा गठबन्धनबारे माओवादीमा फरक–फरक मत

नेकपा (माओवादी केन्द्र) का सांसद गिरिराजमणि पोखरेलले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी संघीय र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने सन्दर्भमा पार्टीभित्र विभिन्न धार रहेको बताएका हुन् । उनले जारी केन्द्रिय कमिटी बैठकमा विभिन्न धारणा व्यक्त गरेको जानकारी दिए । पार्टीभित्र एक्लै निर्वाचनमा जानुपर्ने, वर्तमान गठबन्धनलाई लिएर जानुपर्ने तथा वाम गठबन्धन गर्नुपर्ने लगायतका मत पार्टीभित्र रहेको उनले स्पष्ट पारे । उनले वाम–लोकतान्त्रिक तथा वाम–समाजवादी गठबन्धन गर्नुपर्ने पनि मत रहेको उल्लेख गरे ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबारदेखि राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा सुरु भएको थियो । सोमबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको १० पृष्ठको प्रतिवेदनमाथि छलफल भएको हो ।
बैठकमा नेताहरुले अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्नेक्रम जारी छ । बैठक मंगलबारसम्म चल्नेछ । प्रतिवेदनमा पार्टीले आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ । पहिलो दिनको बैठकमा सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी, कर्णाली प्रदेश अध्यक्ष विमला केसी, मधेस प्रदेशका इञ्चार्ज गणेश साहलगायतले आफ्नो प्रदेश मातहतको विवरण पेश गरेका थिए ।
आइतबारको बैठकमा नेताहरुले पार्टीभित्रको सांगठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्नेमा जोड दिएका थिए । गत पुसमा पार्टीको आठौँ महाधिवेशन सम्पन्न गरेको माओवादीले अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्