६ प्रदेशमा राष्ट्रिय सभा निर्वाचन

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ बाहेक सबै प्रदेशमा निर्वाचन हुने भएको छ । प्रदेश २ मा सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश २ मा सबै निर्विरोध भएपनि अरु प्रदेशमा केही पदमा निर्विरोध भएपनि बाँकी पदका लागि निर्वाचन हुने बताएका छन् । माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ ।
५६ सदस्यीय रहने राष्ट्रिय सभामा हालसम्म २४ पदमा निर्विरेध भइसकेको छ । अब २८ पदका लागि भने निर्वाचन हुनेछ । निर्विरोध हुनेहरूमा प्रदेश नं १ मा ३ महिला र अरु तीन पदमा गरि छ उम्मेदवार निर्विरोध भएको आयोगले जनाएको छ । प्रदेश १मा अब दलित र अपांगता-अल्पसंख्यक १-१ गरी दुई पदका लागि निर्वाचन हुने छ । प्रदेश २ मा सबै निर्विरोध भइसकेका छन् भने प्रदेश ३ र ६ मा भने कुनै पनि पदमा निर्विरेध हुन सकेन । त्यहाँ सबै पदका लागि निर्वाचन हुन आयोगका प्रवक्ता ढकालले बताए ।
प्रदेश नं. ४ मा अपांगता-अल्पसंख्यक पदमा १ जना निर्विरोध निर्वाचित भएका छन् । ७ पदका लागि २४ गते निर्वाचन हुनेछ । त्यस्तै, प्रदेश नं ५ मा महिला ३ पदमा निर्विरोध भएका छन् । सो प्रदेशमा ५ पदका लागि निर्वाचन हुनेछ । प्रदेश ७ मा महिला ३ र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध भएका छन् । त्यहाँ दलित र अपांगता-अल्पसङ्खयक १-१ गरी दुई पदमा निर्वाचन हुने छ । निर्वाचित हुन बाँकी ३२ पदका लागि ५२ जना उम्मेदवार मैदानमा रहेको आयोगले जनाएको छ । राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २ हजार ५६ जना मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ रहेको छ ।