भिसा लाउन नपर्ने, क्वारेन्टाइन बस्नु नपर्ने जस्ता सुविधाका कारण नेपाल भारतीय पर्यटकको पहिलो रोजाइ पनि हो ।
अर्थतन्त्रको पुनरुत्थान राष्ट्रिय संकल्प
हाल मुलुकमा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब हटाउन तत्काल सरकारले नेपालका विदेशस्थित राजदूतावास तथा नियोगलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिनु आवश्यक छ । नेपालमा करिब–करिब शतप्रतिशत खोप प्रदान गरिएको तथा सुरक्षित रहेको सन्देश नेपाली दूतावास तथा नियोगमार्फत दिन सके पर्यटक आगमन बढ्छ, जसबाट तत्काल विदेशी मुद्रा आर्जन हुन्छ । यसै पनि नेपालमा राजदूतावास तथा नियोगहरूको कार्यसम्पादन तथा औचित्यमा धेरै प्रश्न उठ्ने गरेको छ । नेपाल सरकारले बिजनेस नै दिएपछि उनीहरूले पनि आफ्नो काम देखाउने अवसर पाउँछन् । त्यसमाथि विश्वभर फैलिएका गैरआवासीय नेपालीको सहयोगमा मुलुकमा रोड शो गर्नेदेखि विभिन्न प्रचारात्मक अभियान सञ्चालन पनि गर्न सकिन्छ । त्यसका लागि नेपालबाट मन्त्रीका लस्कर जानु पर्दैन । तत्तत् मुलुकका नेपाली राजदूतावास एवं गैरआवासीय नेपाली संघमार्फत यो अभियान तत्काल अगाडि बढाउन सकिन्छ । यसै पनि पछिल्ला महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । त्यसैले यही समयमा नै नेपालको प्रचारात्मक अभियान गर्दा बढी प्रभाव पर्छ । तथा आउने पर्यटकको सिजनमा विदेशी पर्यटकलाई नेपालमा ल्याउन सके विदेशी मुद्रा सञ्चितिमा सहज हुन्छ । कारण सन् २०२२ को जनवरीदेखि जुनसम्म पहिलो ६ महिनामा २ लाख ३७ हजार ८ सय १३ जना विदेशी पर्यटक नेपाल घुम्न आइसकेका छन् । अध्यागमन विभागका अनुसार जुनमा मात्रै ४६ हजार ९ सय ५७ पर्यटक नेपाल आएका छन् । पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए भने दोस्रो महिना फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५८ हजार, मेमा ५३ हजार र जुनमा करिब ४७ हजार पर्यटक हवाईमार्ग हुँदै नेपाल आएका छन् । यसरी कोरोना कहरका कारण सुस्ताएको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किने क्रममा रहेकै बेला सरकारले योजनाबद्ध रूपमा प्रचारात्मक अभियान गर्दा यसले सकारात्मक परिणाम दिन सक्छ । किनकि कोरोना कहरका कारण विगत दुई वर्षदेखि पर्यटन क्षेत्र सुस्ताएको थियो । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ महामारीले पर्यटक आगमनमा गिरावट आएको थियो । नेपालले आफ्नो पर्यटन प्रवद्र्धनमा भारतमा बढी जोड दिन पनि आवश्यक छ । किनकि पछिल्लो समय नेपाल भ्रमणका लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । ऐतिहासिक रूपमा नै भारतीय पर्यटक नेपाल आउने सबैभन्दा बढी संख्या हुने गर्छन् । भिसा लाउन नपर्ने, क्वारेन्टाइन बस्नु नपर्ने जस्ता सुविधाका कारण नेपाल भारतीय पर्यटकको पहिलो रोजाइ पनि हो । दक्षिण एसियामा भारतीय पर्यटकपछि नेपाल आउने सबैभन्दा बढी पर्यटक बंगलादेशी रहेका छन् । तथ्यांकअनुसार मे महिनामा ३ हजार २ सय ६८ जना बंगलादेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैले संख्या तथा सम्भाव्यताका आधारमा नेपालको ठूलो पर्यटक बजारमा पर्यटन प्रवद्र्धन गर्नु आजको आवश्यकता हो ।
पर्यटनको प्रवद्र्धन गर्दा तत्काल त्यसको सकारात्मक प्रभाव देखिन्छ भने निर्यात प्रवद्र्धन वा आयात प्रतिस्थापनका लागि नेपालमा उत्पादन बढाउन आवश्यक छ । तर, नेपालमा उत्पादन बढाउनु सहज छैन । मुलुकभित्रै उत्पादन वृद्धि गर्न सके अर्थतन्त्रमा देखिएका चुनौतीबाट पार पाउन सकिन्छ । तर, उत्पादन बढाउन नेपालमा ऐतिहासिक समस्याहरू रहेका छन् । राजनीतिक दल, नागरिक समाज तथा निजी क्षेत्र तथा कर्मचारीतन्त्र सबै क्षेत्रबाट एकीकृत प्रयास नहुँदासम्म नेपालमा उत्पादन बढाउने तथा आयात प्रतिस्थापन गर्ने कार्य व्यवहारमा आउन मुस्किल छ । त्यसैले तत्कालका लागि पर्यटन प्रवद्र्धन गर्ने, मध्यकालमा वैदेशिक रोजगारीमा गएका श्रमिकका समस्या समाधान गरेर तथा उनीहरूलाई सहजीकरण गरेर रेमिट्यान्स बढाउने अनि दीर्घकालमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गरेर विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । तर, दीर्घकालीन विकल्पलाई राष्ट्रिय संकल्पका रूपमा स्थापित तथा व्यवहारमुखी बनाउन राजनीतिक दलका नेतृत्व तथा कर्मचारी वर्ग एवं निजी क्षेत्रले आफैं उदाहरण प्रस्तुत नगरेसम्म नागरिकले विश्वास गर्नेछैनन् । त्यसैले चुनौतीहरू थपिँदै गएको अर्थतन्त्रलाई पुनरुत्थान गर्न सबैको दृढ राष्ट्रिय संकल्पको विकल्प छैन ।